PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

देउवा त छोडौं,अलमलियो सिंगै कांग्रेस



नेत्र तामाङ

देउवा त छोडौं,अलमलियो सिंगै कांग्रेस

काठमाडौं : सत्ता छाड्ने अन्तिम समयमा पनि लगातार आलोचना बोहरिरहेका नेपाली कांग्रेसका सभापति एवम प्रधान मन्त्री शेरबहादुर देउवा आफ्नै मुडमा छन्। मुलुकको अर्थतन्त्रलाई दीर्घकालीन असर पार्ने निर्णयहरु एकपछि अर्को गर्दै आएका देउवाका गतिविधिमाथि नेपाली कांग्रेसका अन्य नेताको मौनता पनि दर्शनीय बनेको छ।

यो अवस्था सत्तमा मात्र सीमित छैन सम्पूर्ण रुपमा नेपाली कांग्रेसभित्र नै कायम छ। यतिखेर कांग्रेस पूरै अलमलिएको छ।

कांग्रेस मुलधारको राजनीतिक गतिविधिमा कहाँ छ त? प्रदेश सभाको निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक भइसकेको छ। मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रदेश सरकार गठन गर्नुपर्ने प्रावधान अनुसार सातै प्रदेशमा फागुन ५ भित्र सरकार गठन भइसक्नुपर्नेछ। पराजित मानसिकताकै कारण हुनुपर्छ कांग्रेसमा प्रदेशको विषयलाई लिएर कुनै छलफल भएको छैन।

प्रदेशमा प्रत्येक दलले संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ। संसदीय दलको नेता संसदको अधिवेशनले चयन गर्छ। वाम गठबन्धनले संसदीय दलका नेता र मुख्यमन्त्री को बन्ने विषयमा निर्णय गरिसक्यो। तर, निर्वाचनमा नराम्ररी हार व्यहोरेको कांग्रेसले भने संसदीय दलको नेता चयनको चासोसमेत देखाएको छैन।  

प्रतिनिधि सभामा दोस्रो दल बनेको कांग्रेसको उपस्थिति प्रदेशमा कमजोर छ। समानुपातिक र प्रत्यक्ष गरी कांग्रेसबाट जम्म १०७ सांसद प्रदेशमा चुनिएका छन्। प्रदेश सरकार निर्माणका लागि यी सांसदको खासै भूमिका नदेखिएकाले पनि कांग्रेसले प्रदेश संसदीय दलको नेता चयनमा रुचि नराखेको कांग्रेसका एक नेताले बताए।

उनका अनुसार सशक्त प्रतिपक्षको भूमिका निभाउन बलियो र योग्य नेता चयनमा भने अहिलेदेखि नै बहस चलाउनुपर्ने हुन्छ।

संसदीय दलको नेता चयन कहिले हुन्छ त? यसबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, 'राष्ट्रिय निर्वाचनको परिणाम आएपछि मात्र प्रदेश संसदीय दलको नेता चयनको विषयमा निर्णय हुनेछ।'

राष्ट्रिय सभाको निर्वाचन यही माघ २४ मा हुँदैछ। भोलिपल्ट मतपरिणाम आएसँगै प्रदेश सभाको संसदीय दलको नेता चयनमा छलफल हुने शर्माले बताए।

यस्तो छ कांग्रेसको प्रदेश सांसदको अवस्था


प्रदेश १
प्रदेश सभा १ मा निर्वाचित र समानुपातिक गरी कुल ९३ सांसद छन्। जसमध्ये २१ जना प्रदेश सांसद कांग्रेको रहेको छ। यस प्रदेशमा हिमाल कार्की, अगमलाल चौधरी, राजीव कोइरालालगायत चर्चामा रहेकाहरु प्रत्यक्षबाट निर्वाचित भएका छन्। यस प्रदेशमा वाम गठबन्धनले प्रदेश सरकार बनाउने पक्कापक्की भइसकेको छ।

प्रदेश २
यस प्रदेशमा कुल १०७ सांसद रहनेछन्। जसमध्ये १५ जना मात्र कांग्रेसका प्रदेश सांसद रहेका यस प्रदेशमा रामसरोज यादव, ओमप्रकाश शर्मालगायत सांसद रहेका छन्। प्रदेश २ मा मधेशवादी दलले सरकार निर्माण गर्ने तयारी थालिसकेको छ।

प्रदेश ३
यस प्रदेशमा कुल ११० सांसद छन्। जसमध्ये कांग्रेसबाट २० जनामात्र सांसद रहेका छन्। कांग्रेसका नरोत्तम वैद्य, निमा लामा, पुकार महर्जनलगायत यस प्रदेशमा निर्वाचित भएका छन्। यस प्रदेशमा पनि वाम गठबन्धनले सरकार बनाउने छ।

प्रदेश ४
कुल ५७ सांसद रहने यस प्रदेश सभामा कांग्रेसबाट १४ जना सांसद छन्। कांग्रेसबाट प्रकाचन्द्र दवाडी, चिन्तबहादुर घलेऽ बिन्दुकुमार थापा लगायत निर्वाचित भएका छन्। यस प्रदेशमा पनि वाम गठबन्धनले नै सरकार बनाउने निश्चित छ।

प्रदेश ५
कुल ९० सांसद रहने यस प्रदेश सभामा कांग्रेसबाट जम्मा १९ जना सांसद रहेका छन्। अष्टभुजा पाठक, बसिउद्दीन खाँ, डिल्ली बहादुर चौधरी, फखरुद्दिन खानलगायत यस प्रदेशमा निर्वाचित भएका छन्। यसमा पनि वाम गठबन्धनले सरकार बनाउने निश्चित भइसकेको छ।

प्रदेश ६
कुल ४० सांसद रहेको यस प्रदेशमा कांग्रेसबाट ६ जनामात्र सांसद छन्। प्रत्यक्षमा जीवनबहादुर शाहीमात्र निर्वाचित भएकाले संसदीय दलको नेतामा उनले दाबी गर्ने कांग्रेस नेताहरु बताउँछन्। 

प्रदेश ७
कुल ५३ सांसद रहेको यस प्रदेश सभामा कांग्रेसबाट १२ सांसद रहेका छन्। कर्णबहादुर मल्ल, भरत बहादुर खड्का, रणबहादुर रावल र डिल्लीराज पन्त निर्वाचित सांसद हुन् भने ८ जना समानुपातिक सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell