
राजविराज : मधेश केन्द्रित राजनीतिक दलहरुको दवदवा रहेको प्रदेश नम्बर २ बाट राष्ट्रिय सभाका लागि नेकपा एमालेले एकजनाको मात्र सिफारिस गरेको थियो। सिफारिसमा परेका सुमनराज प्याकुरेल निर्विरोध हुँदै एमाले विरोधी सेन्टिमेन्ट हावी भएको ठाउँबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दैछन्।
केन्द्रीय सदस्य रहेका प्याकुरेल पार्टीको सदस्यता लिएको साढे चार दशकपछि सांसद हुने निश्चित भएको हो। उनी पञ्चायतकालदेखि नै सप्तरीमा चिनिएका कम्युनिस्ट नेतासमेत हुन्। विद्यार्थी राजनीति, जेलनेलदेखि बहुदलीय हुँदै गणतान्त्रिक व्यवस्थामा आइपुग्दा मधेशमा उनको राजनीतिक स्थिरताले पाइरह्यो।
सत्र वर्षको उमेरमा २०३१ सालमा नेकपा (पुष्पलाल) समूहमा आवध्द प्याकुरेल नेकपा(माले)मा सुरुवातकालदेखि नै संगठित हुन पुगेका थिए। २०३८ सालमा सम्पन्न अनेरास्ववियुको छैठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित प्याकुरेल २०४६ सालको जनआन्दोलनमा तत्कालीन नेकपा (माले)को खुला मोर्चा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको नेतृत्व पंक्तिमा थिए। सप्तरीको सखडा गोविन्दपुर र राजविराज वडा नम्वर ४ मा हुर्केका प्याकुरेलले कानुनमा स्नातक गरेका छन्। हाल उनी सप्तरीको रुपकञ्चनपुर नगरपालिकाका बासिन्दा हुन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली शक्तिशाली हुनुपूर्वदेखि नै निकट रहेर काम गरेका प्याकुरेल मधेश केन्द्रित राजनीतिक दलको निशानामा पर्दै आएका थिए। राजविराजको मलेठमा भएको आन्दोलनका समयमा मधेश केन्द्रित दलको आक्रोशको केन्द्रमा थिए उनी।
मधेश आन्दोलनका क्रममा एमालेलाई निषेधको राजनीति चर्किएको थियो। त्यतिखेर पनि सक्रिय रहेर एमालेको प्रतिरक्षा गरेका कारण उनी यसपाला राष्ट्रिय सभामा सिफारिस पर्नुको कारण बन्यो। आन्दोलनका क्रममा भौतिक आक्रमणसमेत बेहोर्दा पनि उनी एमालेको राजनीतिबाट विचलित भएनन्। प्याकुरेल राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलका कान्छा भाइ हुन्।