PahiloPost

Mar 23, 2025 | ९ चैत्र २०८१

युद्धमा कलमसँगै मादल र हतियार बौक्यौं, सपना अझै बाँकी छन्: प्रचण्ड



रासस

युद्धमा कलमसँगै मादल र हतियार बौक्यौं, सपना अझै बाँकी छन्: प्रचण्ड
रासस

काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने दृढता व्यक्त गरेका छन्। 

प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रचण्डले जनताका सामु गरिएका प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गरेर छाडिने र कुनै पनि प्रकारको अवरोधलाई चिरेर अगाडि बढ्ने बताए। 

राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ संकल्प गरेर जानुपर्नेमा जोड दिँदै उनले भने, “जनताको अपेक्षा पूरा गर्न नयाँ संकल्प जरुरी छ। राजनीतिक स्थायित्वलाई पूर्णता दिन पनि आर्थिक क्रान्ति जरुरी छ।” 

देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै अध्यक्ष प्रचण्डले त्यस्तो प्रयासलाई सफल हुन नदिने विश्वास व्यक्त गरे। “हामी मुलुकलाई अराजकतामा धकेल्न खोज्नेको प्रयासलाई सफल हुन दिँदैनौँ” अध्यक्ष दाहालले भने। 

सरकारका पछिल्ला गतिविधिप्रति संकेत गर्दै अध्यक्ष दाहालले आर्थिक अराजकता देखिन खोजेको र त्यस्तो प्रयास भइरहेकाले वाम गठबन्धनले त्यसलाई बाहिर निकालेर छाड्ने बताए। 

वाम गठबन्धनले जनताका अगाडि गरेका प्रतिबद्धता पूरा गर्ने बताउँदै उनले देशलाई राजनीति स्थायित्व, सुशासन र समृद्धितर्फको यात्रामा लैजाने अठोट गरे। 

देशको पक्षमा सकारात्मक भूमिका खेलिदिनसमेत उनले पत्रकारलाई आग्रह गरे। 

दाहालले विगतमा आफूहरुले देखेको सपना पूरा गर्न पनि सबै मिलेर जानुको विकल्प नभएको उल्लेख गरे। जनयुद्धको समयमा कलमसँगै मादल र हतियार पनि प्रयोग भएको प्रसंग जोड्दै उनले केही सपना अझै बाँकी रहेकाले ती सपना कलमका माध्यमबाट पूरा गर्नुपर्नेमा जोड दिए। 

प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले पत्रकारको पेशागत हित र सुरक्षाका लागि पनि राजनीतिक स्थायित्वको जरुरी रहेको धारणा राखे। कार्यक्रममा प्रेस सेन्टरले हालै स्थापना गरेको ‘शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार’बाट पत्रकार तुलसीदास महर्जनलाई सम्मान गरियो। पुरस्कारको राशि रु १० हजार र सम्मानपत्र रहेको छ। 

यस्तै जनयुद्धको समयमा युद्ध पत्रकारितामा नै संलग्न संगीता खड्का, देवकी तिमिल्सिनालगायतलाई पनि सम्मान गरिएको थियो। विसं २०६१ माघ १५ गते अखिल नेपाल क्रान्तिकारी पत्रकार संघको नाममा स्थापित संस्था गत वर्ष सम्पन्न अधिवेशनबाट प्रेस सेन्टर नेपालमा रुपान्तरित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell