.png)
काठमाडौं : एमबीबीएस भर्नाको लागि मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिन थालेपछि डक्टरर्स सोसाइटी नेपालले बढी शुल्क नलिन कलेजहरुलाई ध्यानाकर्षण गराएको छ। बढी शुल्क नतिर्न अभिभावक, विद्यार्थीलाई समेत आग्रह गरेको छ।
प्रेस विज्ञप्ती जारी गर्दै डक्टर्स सोसाइटी नेपालले कुनै पनि बहानामा विद्यार्थीहरु पढ्न नपाए कडा भन्दा कडा आन्दोलन गर्ने बताएको छ। त्यस्तै कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो आन्दोलनबाट ती कलेजहरुलाई हुन सक्ने कुनै पनि क्षतिको जिम्मेवार स्वयम् ती कलेजहरु एवम् सम्पूर्ण सरोकारवालहरु हुनुपर्ने पूर्वजानकारि समेत गराउन चाहन्छौँ।’ आइओएमले अतिरिक्त शुल्क लाग्ने शीर्षक नै तोकिदिएको छ। कलेजहरुले परीक्षा शुल्क, छात्रावास शुल्क र खाना शुल्क मात्र थप लिन पाउँनेछन्।
आइओएम अन्तर्गतका मेडिकल कलेजहरुमा अहिले एमबीबीएस भर्ना चलिरहेको छ। भर्ना चलिरहँदा मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएको भन्ने गुनासो सुनिँदै आएको छ। विद्यार्थीहरुले प्रमाणसहित उजुरी गरिरहेका छन्।
सरकारले विद्यार्थीसँग उपत्यकाभित्रका मेडिकल कलेजमा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ लिन पाउने व्यवस्था गरेको छ। विद्यार्थीलाई कलेजले सार्वजनिक गरेको बैंक खातामा ५० प्रतिशत पहिलो किस्ता बापत जम्मा गरी अनलाइन प्रक्रियाद्वारा भर्ना हुन भनिएको छ। विद्यार्थीको दबाब र गुनासोपछि आइओएम डीन कार्यालय शीर्षक नै तोकेर शुल्कबारे स्पष्ट पारेको थियो।