काठमाडौंः राष्ट्रिय सभा सदस्य निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भएका छन्। योसँगै ५६ सदस्यका लागि हुन लागेको निर्वाचनमा अब ३२ पदका लागि मात्र निर्वाचन हुने भएको छ।
यी पदका लागि ५२ उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
माघ २४ गते बुधबार हुने निर्वाचनका लागि उम्मेदवारहरूलाई आजै निर्वाचन चिह्न प्रदान गरिएको छ।
निर्वाचन कार्यतालिका अनुसार, आज दिनको २ बजेसम्म उम्मेदवारहरूलाई आफ्नो मनोनयनपत्र फिर्ता लिनका लागि समय प्रदान गरिएको थियो।
प्रदेश नम्बर १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पद गरी जम्मा २ पदका लागि बढी मतीय आधारमा निर्वाचन हुने भएको छ।
प्रदेश नम्बर २ मा ८ वटै पदका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।
प्रदेश नम्बर ३ मा ८ वटै पदमा मतदान हुने छ भने प्रदेश नम्बर ४ मा अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पदमा उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएकाले अन्य पदमा निर्वाचन हुने छ।
प्रदेश नम्बर ५ मा महिला ३ पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसकेकाले अन्य ३, दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा ५ पदमा निर्वाचन हुने भएको छ।
त्यस्तै, प्रदेश नम्बर ६ मा सबै पदमा निर्वाचन हुँदैछ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ पदमा उम्मेदवारहरू निर्विरोध भएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा २ पदमा निर्वाचन हुने भएको छ।