PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

मैत्रीपूर्ण भलिबल : नेपालले हङकङलाई दोस्रो खेलमा पनि हरायो



पहिलोपोस्ट

मैत्रीपूर्ण भलिबल : नेपालले हङकङलाई दोस्रो खेलमा पनि हरायो
फोटो : एनएसजेएफ

काठमाडौं : ३४ वर्षपछि मैत्रीपूर्ण खेल खेल्न हङकङ पुगेको नेपाली राष्ट्रिय टोलीले दोस्रो खेलमा पनि घरेलु टोलीलाई पराजित गरेको छ। पो विङ रोड स्पोर्ट्स सेन्टरमा आइतबार भएको पहिलो खेलमा ३-२ को प्रतिस्पर्धात्मक जित हासिल गरेको नेपालले सोमवार घरेलु टोली हङकङलाई ३-१ को सेटमा पराजित गर्‍यो।

पहिलो र दोस्रो सेट क्रमश: २५-१६ र २५-१४ ले जित्दै नेपालले २-० को अग्रता बनाएको थियो। प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट हङकङले २८-२६ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने प्रयास गरेको थियो। तर चौथो सेटमा नेपालले पुनरागमन गर्दै २७-२५ ले जित्यो र एक सेट बाँकी रहदै खेल ३-१ ले जितेको हो।

जितपछि नेपालका मुख्य प्रशिक्षक वीरेन्द्रप्रसाद चौधरीले नेपालले हिजो भन्दा राम्रो खेलेको बताए। ‘हिजोको भन्दा आज खेल राम्रो भयो। आज केटाहरुले पनि खुलेर खेले। मान बहादुरले राम्रो खेल्दा टोलिको प्रदर्शन राम्रो भयो। हङकङले सट बल, फास्ट गेम खेल्दिदा तेस्रो सेट  गुमायौँ,’ उनले भने।

यस्तै नेपालका कप्तान इम रानामगरले समग्रमा खेल राम्रो भएको प्रतिक्रिया दिए। ‘हिजोको तुलनामा पहिलो र दोस्रो सेटमा आज रिसिभ र डिफेन्स राम्रो भयो। तर  तेस्रो सेटमा केही बिग्रियो। अन्तिम सेटमा १५ सम्म उनीहरूले हामीलाई दबाबमा राखे पनि रिसिभ, ब्लक र तालमेल राम्रो भयो र खेल जित्यौँ,' रानामगरले भने। उनले हङकङमा खेल्दा नेपालमै खेलेको जस्तो भएका कारण हङकङबासी नेपालीलाई धन्यवाद दिए। 

नेपालले अब बुधवार मकाउसँग पहिलो पटक मैत्रीपूर्ण खेल खेल्दैछ।
 

नेपालले मौरिसियससँग दुई मैत्रीपूर्ण भलिबल खेल्ने

नेपाली राष्ट्रिय भलिबल टोलीले आगामी मार्चमा मौरिसियससँग दुई वटा मैत्रीपूर्ण भलिबल खेल्ने भएको छ। नेपाल भलिबल संघ एनिभएका अनुसार नेपालले मार्च १८ देखि २४ सम्म नेपालले मौरिसियसमा गएर प्रशिक्षण गर्ने र दुई खेल पनि खेल्ने भएको हो।

आगामी अप्रिलमा हुने चौथो एसियन सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियन्ससिपको तयारीका लागि नेपालले उक्त खेल खेल्न लागेको हो। उक्त प्रतियोगिता बंगलादेशमा हुँदैछ।

यस्तै मोरिसियसमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोली क्याम्पमा बस्दैछ। त्यतिबेला खेलाडीलाई नियमित डाइटका लागि पुर्व भलिबल खेलाडी रोम गुरुङले १ लाख रुपैयाँ सहयोग  गरेका छन्। उनले अझै सहयोग रकम पठाउने बताए। त्यस्तै खेलाडीको प्रोत्साहनका लागि पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा भलिबल संघका सल्लाहकार जयनारायण चौधरीले १ लाख ३३ हजार रकम प्रदान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell