PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

मधेश आन्दोलनका घाइतेको पीडा: 'चुनाव जितेपछि नेताको फोन उठ्दैन'



बीपी साह

मधेश आन्दोलनका घाइतेको पीडा: 'चुनाव जितेपछि नेताको फोन उठ्दैन'

काठमाडौं: ग्वार्कोमा रहेको बीएण्डबी अस्पतालको ५२५ नम्बरको कोठाभित्र १ नम्बर बेडमा छन् पन्नालाल यादव। उनका आफन्तले ७० हजारको एउटा डिपोजिट गर्नु पर्ने भौचर ल्याएर दिए। भौचर हेरेर पत्नीको अनुहारतिर हेरे उनले। त्यसपछि हामीसँग सुरु भयो कुराकानी।

नेपालको संविधान जारी हुनुअघि सुरु भएको तेस्रो मधेश आन्दोलनका क्रममा पन्नालाल घाइते भएका हुन्। २०७२ भदौ १४ गते वीरगंजस्थित राधेमाई नजिकै उनलाई गोली लागेको थियो।

खुट्टाको जोड्नीमा गोली लागेका पन्नालाल २९ महिनादेखि उपचारका लागि विभिन्न ठाउँमा भौतारिँदै थिए। नेपालसहित भारतको केही अस्पतालमा पनि पुगे। अधिकांश स्थानमा खुट्टाको अपरेसन गर्दा खुट्टा काटेर फाल्नु पर्ने हुनसक्ने डाक्टरहरुले बताएपछि उनी डराएका थिए। तर, जे त होला होला भन्दै अस्पताल पुगेका उनको शनिबार काठमाडौंमा अपरेसन भएको छ। अपरेसन नहुन्जेलसम्म उनी हिँड्डुल गर्न पाएका थिएनन्। उनको खुटा सिधाको सिधै रह्न्थ्यो। अपरेसनपछि ३० प्रतिशत भाग मोड्न सकिने भएको छ।

उनी २९ महिनासम्म थला परेर बस्दा उनको व्यापार चौपट भएको छ। घरको आर्थिक अवस्था डमाडोल। ३४ वर्षीय पन्नालालका एक छोरा र दुई छोरी छन्।

राजनीतिमा सक्रिय उनी आन्दोलनको अग्रपङ्तिमा हुने गर्थे। त्यही क्रममा उनलाई गोली लाग्यो।

पन्नालालले पहिलोपोस्टसँग भने, ‘मेरै अगाडि आन्दोलनकारी मरे। म बाँचेको छु। तर, २९ महिनादेखि मरेकै सरह।’

यो अवधिमा उनले दलका नेताको चरित्र पनि बुझ्न पाएका छन्।

‘चुनावअघिसम्म केही नेता भेट्न पनि आउँथे। वीरगंजका मेयरले पाँच हजार नगद सहयोग पनि गरे। तर, चुनावपछि धेरै नेताहरुले फोन उठाउन छोडे, ’पन्नालालले भने, ‘चुनाव अघिसम्म मेरो पनि चर्चा थियो तर अहिले सबैले बिर्से।’

‘संविधानमा आफ्नो माग समावेश गराउन भएको आन्दोलनमा गोली लाग्यो। संविधान जारी भएपछि संशोधनका लागि माग गर्दै अरु मारिए। तर, नेताहरुले त्यही संविधानलाई मानेर शपथ खाए।'

मधेश आन्दोलनका घाइतेलाई सरकारले उपचार रकम पनि उपलब्ध गराएको थियो। सरकारी रकमबारे पन्नालालले भने, ‘पाँच लाखभन्दा बढीको खर्च भएको थियो तर सरकारबाट एक पटक ६८ हजार र अर्को ६९ हजार पाएँ। त्यसले औषधिको खर्च पनि पुगेन।’

पर्साको महुवन बलवा घर भएका पन्नालालको क्षेत्रबाट संघीय समाजवादी फोरम विजयी भएको छ। यादव पनि फोरमका नेताहरुको निकट छन्। अपरेसन हुनुअघि उनले फोरम र राजपाका अधिकांश नेताहरुलाई फोन गरे। फोरम अध्यक्ष उपेन्द्र यादव आइतबार उनलाई भेट्न पुगेका थिए।

उनी भन्छन्, ‘राजपाका नेता राजेन्द्र महतोसँग पहिले कुरा हुन्थ्यो। तर, चुनावपछि उहाँले फोन उठाउन छोड्नुभयो। मधेशी दलका सबै नेताले मलाई आश्वान दिएका थिए तर अहिले धेरैले फोन पनि उठाउँदैनन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell