
काठमाडौं: नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठनको सहयोगमा अस्पतालहरुबाट दिइने विभिन्न किसिमका प्रमाणपत्रहरुमा एकरुपता ल्याउने तयारी गरेको छ।
अस्पतालहरुले जन्म, मृत्यु लगायतका विभिन्न प्रमाणपत्रहरु आफूखुसी रुपमा जारी गर्दै आएका कारण स्वास्थ्य क्षेत्र समस्या परेको भन्दै चिकित्सक संघले यस्तो निर्णय गरेको हो।
यो कार्यको थालनी भएपछि सबै अस्पतालमा यस्तो प्रकिया एक रुपतामा आउनेछ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा यसका लागि अध्ययन तथा अनुसन्धान गर्ने तयारी गरेको संघका महासचिव डाक्टर लोचन कार्कीले बताए। भने ‘अहिले हस्पिटलमा कुनै मानिसको मृत्यु भयो भने एउटा हस्पिटलले एक किसिमको मृत्यु प्रमाणपत्र दिन्छ, अर्को हस्पिटलले अर्कै दिन्छ। हस्पिटल पिच्छे अलगअलग किसिमको प्रमाणपत्र बढ्दै जाँदा अन्योल र समस्या निम्तिने भएकाले यसमा एकरुपता ल्याउन विशेष कार्यक्रम नै ल्याएका हौँ।'
प्रमाणपत्र बनाउने काम विश्व स्वास्थ्य संघको मापदण्ड अनुसार हुनेछ। त्यस्तो प्रमाणपत्र सरकारी, निजी लगायतका सम्पूर्ण अस्पतालहरुमा लागु हुने कार्कीले बताए।
त्यस्तो प्रमाणपत्रले नेपालमा कस्तो किसिमको रोग फैलिएको छ। कुन रोग लागेका कति मानिस छन्। कुन रोगका कारण कति मानिसको मृत्यु हुन्छ। एक वर्षमा कति मानिसको जन्म हुन्छ जस्ता तथ्याङ्कहरु सजिलै प्राप्त हुनेछ। अस्पतालले बिरामीलाई दिने प्रमाणपत्रको आधारमा सरकारलाई निति नियम बनाउन समेत सजिलो हुनेछ।