
वासिङ्टन: गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ।
ती व्यक्तिलाई निगरानीमा राखिने बताइएको छ। त्यस सूचीमा संलग्न व्यक्तिलाई अमेरिकाले ‘पुटिन सूची’ भनेर नाम पनि दिएको छ। तर त्यो कस्तो नाकाबन्दी हो भन्ने बारेमा भने केही बताइएको छैन।
अमेरिकी आर्थिक विभागले सो सूची सार्वजनिक गरेको बताइएको छ। त्यस सूचीमा ११४ जना राजनीतिक नेता र ९६ जना व्यापारी रहेका छन्।
तीमध्ये सबैजसो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहयोगी समूहका सदस्यहरु हुन्। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ती व्यक्तिहरुले वर्तमान राष्ट्रपतिका पक्षमा प्रभाव पार्ने काम गरेका बताइएको थियो।
ती व्यापारीहरुको व्यापार र व्यक्तिमाथि पनि आर्थिक प्रतिबन्धहरु लगाउन सकिने भन्दै सो सूची प्रकाशन गरिएको समाचारमा जनाइएको छ।
अमेरिकामा सम्पन्न सो निर्वाचनमा रुसको घुसपैठ रहेको समाचारले अमेरिकामा निकै ठूलो चर्चा पाइरहेको छ। रुसले त्यस समयका अर्का प्रत्यासी हिलारी क्लिन्टनलाई हराउन चलखेल गरेको बताउँदै आइएको छ।
तर यस आरोपको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने खण्डन गर्दै आएका छन्। उनले आफ्नो जितका लागि रुसको प्रभाव थियो भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन्।
सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपहरुबारेमा छानबिन गरिरहनुभएका अमेरिकी एफबिआइका उपनिर्देशकको राजिनामा आएकै दिन यता अमेरिकाले यो सूची पनि सार्वजनिक गरेको छ।
उक्त निर्वाचनमा रुसले हस्तक्षेप गरेको भनी आउने समाचारहरुको राष्ट्रपति ट्रम्पले सधैँ खण्डन गर्ने गर्नुभएको छ। उहाँमाथि यस विषयमा थप सोधपुछ गरिने बताइएको थियो।