- अञ्जली थापा-
हेटौँडा: प्रदेश नं ३ को पहिलो प्रदेशसभा बैठक तयारीको काम अन्तिम चरणमा पुगेको छ।
प्रदेश प्रमुखको कार्यालयका सचिव चतुर्भुज ज्ञवालीका अनुसार बैठक कक्षमा रंगरोगनदेखि मुख्यमन्त्री तथा अन्य कार्यालय तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको हो। माघ १८ गते प्रदेश सभा बैठक तोकिएसँगै व्यवस्थापनमा जुटेका कर्मचारीले तयारीको कार्यलाई तीव्र गति दिएका थिए।
पहिलो प्रदेश सभा बैठकका लागि माघ ७ गते प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेको संसद् सचिवालयको सभाहललाई व्यवस्थित बनाउने काम अन्तिम चरणमा भइरहेको छ।
प्रदेश प्रमुखको कार्यालयका सचिव ज्ञवालीले भने, “११० जना माननीयलाई व्यवस्थित ढंगले राख्न कुर्सी व्यवस्थापन र सभाहल आकर्षक बनाउने काम लगभग सकिएको छ। रंगरोगनदेखि कार्पेट राख्ने, पर्दा फेर्ने सकिएको छ भोलिसम्मका लागि रोस्टम बनाउनेलगायत काम गर्दैछौँ।”
माघ ७ गते शपथ खुवाउँदा सभाकक्ष व्यवस्थित नभएकाले तस्बीर खिच्नसमेत कठिनाइ भएको सचिव ज्ञवालीले बताए। उनका अनुसार साँघुरो सभाहल र छोटो तयारीमा भएको शपथग्रहणमा सांसदलाई बस्न असजिलो भएको थियो।
अब निरन्तर संसद् सभाहलमा सभा भइरहने भएकाले यसलाई व्यवस्थित गर्ने काम शुरु भएको भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका प्रमुख सुदीप आचार्यले बताए। उनले भने, “तर संसद् सचिवालयबाट अनुभवी जनशक्ति आई नपुगेकाले कसरी काम गर्ने भन्ने अन्योल छ।”
त्यसैगरी प्रदेशस्तरीय कार्यालय रहने भएपछि केही सरकारी कार्यालय भाडाको घरमा सार्नुपर्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए। उनका अनुसार प्रदेशस्तरीय मन्त्रालय राख्ने भवनसँगै मुख्यमन्त्री, मन्त्री, सचिवलगायत कर्मचारी रहने निवासको पनि खोजी थालिएको छ।
प्रदेशस्तरीय मन्त्रालय राख्ने भवनसँगै मुख्यमन्त्री, मन्त्री, सचिवलगायत कर्मचारी रहने निवासको पनि खोजी थालिएको जनाइएको छ। मुख्यमन्त्रीको निवास अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवनमा रहने भएको छ। अख्तियार भने आफ्नै नयाँ भवनमा सर्नेछ।
सभामुख र उपसभामुख सडक डिभिजन कार्यालयको कम्प्लेक्समा रहने प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए। प्रदेशका सबै मन्त्रीको सामूहिक निवास भने हेटौँडा सिमेन्ट उद्योगको क्वार्टरमा हुने छ।
मुख्यसचिवको निवास क्षेत्रीय वन कार्यालयको निवासमा हुने भएको छ। तत्काल रहने सात मन्त्रालयका सचिवको सामूहिक निवास भने डिभिजन सडक कार्यालयको कम्प्लेक्समा रहने प्रजिअ बुढाले बताए।रासस