अभिनेत्री रेखा थापा छोरीहरुका लागि गाउँ गाउँको यात्रामा छिन्। ‘छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान'सँग जोडिएकी उनी विभिन्न जिल्लामा गएर महिलामाथि हुने हिंसा, विभेद र असमानताको विरुद्धमा विभिन्न कार्यक्रम आयोजना गर्दै छिन्। महिला सशक्तिकरणको वकालत गर्ने उनले मंगलबार एक फेसबुक स्टाटस लेखिन् जसमा उनले महिला बनाउन दिइने तालिमले छोरीलाई कमजोर बनाउने बताएकी छिन्।
रेखाले महिला बनाउने तालिम भन्दै सामाजिक संरचनामाथि व्यङ्ग्य गरेकी हुन्।
आधिकारिक फेसबुकमा भूमिका बाँधेर लेखेकी छिन्,'समाजले महिला बनाउन तालिम दिने गरी तयार गरेको व्याकरण र शब्दकोष यस्तै रहुन्जेल कोही छोरी आफ्नो पहिचान र परिचयमा आत्मनिर्भर हुने छैनन।' उनले जन्मदेखि समाजले छोरीलाई सिकाउने काम र दिइने शिक्षाले उसलाई परनिर्भर बनाउने लेखेकी छिन्। भन्छिन्, ‘छोरीको परिचय कसैसँग जोडिएर सुरुवात हुन्छ वा उनी आफैँमा पूर्ण मानव हुन्? एउटा पुरुष सन्तान जन्मदेखि मृत्युसम्म एउटा परिचय र पहिचानको सुविधा बाँच्न पाइरहँदा, सोही घरकी छोरीले आफ्नो परिचय बनाउँदै-भत्काउँदै गर्नु पर्ने किन हुन्छ? के परिचयको समर्पण र त्याग छोरीको निम्ति अपरिहार्य आवश्यकता हो?’
रेखा थापाले समाजमा छोरीको स्थितिमात्र नभएर हाम्रा विद्यालयहरुमा प्रयोग हुने पाठ्यक्रम पनि छोरीहरुको स्व-अस्तित्व नकार्ने ढाँचामा बनेको जनाएकी छिन्।
