
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालसञ्चार केन्द्रको टोलीले बुधवार भेटी दश बुँदे सुझावपत्र बुझाएको छ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पत्र बुझ्दै ओलीले पनि बालबालिकाका क्षेत्रमा कलम चलाउँदै आएका सञ्चारकर्मीको टोलीलाई सुझाव दिन भ्याए।
स्थानीय तह बालमैत्री हुनुपर्ने भन्दै पुगेका टोलीलाई ओलीले भने, 'बालमैत्री भन्नु भो। तपाईँहरुभन्दा हामी एक स्टेप अगाडि छौं। भोलिका लागि बालबालिकाका क्षेत्रमा अझ सुरक्षित वातावरण, अझ सहज जीवन त्यसका निम्ति काम गर्नुपर्छ।'
बालबालिकालाई विषादीयुक्त खान खुवाउनु नहुने धुवा, धुलो तथा त्रसित वातावरण राख्न नहुने उल्लेख गर्दै उनले यी कुरालाई आगामी सरकारले ध्यानमा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
बालबालिकाका क्षेत्रमा काम गर्ने सञ्चारकर्मीको प्रशंसा गर्दै ओलीले भने, 'आफ्नै मात्र छोराछोरीलाई धेरैले चिन्ता गर्छन्। दुनियाँको छोराछोरीलाई चिन्ता गर्नुभएको तपाईँहरुलाई धेरै धन्यवाद।'
सरकारले 'नेपाली जनता कोही भोकै पर्दैन, कोही भोकै मर्दैन' नीति ल्याउने र यसमा बालबालिकासमेत पर्ने भएकाले नेपालमा खान नपाउने लगाउन नपाउने बालबालिका नहुने ओलीको भनाई थियो।
उनले गर्भदेखि शिशु अवस्थासम्म स्वस्थ रहने अधिकार बालबालिकाले पाउनुपर्ने उल्लेख गर्दै खेल्न पाउनु, रमाउन पाउनुपर्ने र त्रसित बनाउने परिस्थित हुन दिनु नहुने विचार राखे।
भने, 'बालबालिका गलत बाटो देखाउनेजस्ता कुरा दण्डनीय हुनुपर्छ।' यस्तो गर्नेलाई समाज र कानुनलेसमेत दण्ड दिनुपर्ने ओलीको सुझाव थियो।