PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

विमला र पुनम सेमिफाइनलमा पराजित, नेपालको भागमा २ कास्य



पहिलोपोस्ट

विमला र पुनम सेमिफाइनलमा पराजित, नेपालको भागमा २ कास्य
फोटो : एनएसजेएफ

दिल्ली : नेपाली खेलाडी विमला श्रेष्ठ र पुनम रावल भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा पराजित भएकी छिन्। बुधबार भएको खेलमा विमला र पुनम भारतीय खेलाडीसँग पराजित हुँदै सेमिफाइनलमै रोकिए।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा जारी प्रतियोगिता विमला र पुनम पराजित भएपनि यी दुई खेलाडीले नेपालका लागि दुई कास्य पदक दिलाउन सफल भए।

दुवैले क्वाटरफाइनलमा ताजकिस्तानी खेलाडीलाई हराएपछि नेपालले कास्य पदक पक्का गरेको थियो। विमला र पुनमको खेल सकिएसँगै प्रतियोगितामा नेपालको स्पर्धा समेत सकिएको छ।

वेन्टम ५४ केजीकी विमला भारतकी मनिषासँग अंकको आधारमा ५-० ले पराजित भईन्। यसअघि विमलाले ताजकिस्तानकी सामिएभा फार्डियालाई आरएससिको आधारमा पराजित गर्दै कास्य पक्का गरेकी थिइन्।

यस्तै लाइट वेल्टर ६४ केजी तौल समूहमा पुनमले भारतकी बसुमाटरी प्विलाओसँग ५-० अंकको आधारमा पराजित भईन्। पुनमले ताजकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा पराजित गर्दै कास्य पदक पक्का गरेकी थिइन्।

विमलाको र पुनम दुवैको यो पहिलो अन्तर्राष्ट्रिय पदक समेत हो।

२३ राष्ट्र सम्मलित प्रतियोगितामा नेपालबाट ६ महिला र ६ पुरुष खेलाडीले सहभागिता जनाएका थिए। पुरुषतर्फ दुई खेलाडीले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा चार खेलाडी भने पहिलो चरणबाट बाहिरिएका थिए। महिलातर्फ पुनम र विमला बाहेक एक खेलाडी क्वाटरफाइनल र तीन खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell