काठमाडौं : शिवम् न्यू डायमण्ड एकेडेमी र पोखराको टप्स उमावीले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा बुधबार दोहोरो जित हात पारेका छन्। नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा न्यू डायमण्डले विभागीय टोली नेपाल आर्मी र दाङको श्रीगाँउलाई पराजित गर्दा टप्सले चितवनको मेघौली र श्रीगाउँलाई नै हरायो।
आफ्नो पहिलो खेलमा न्यू डायमण्डले आर्मीमाथि ३–० को सहज जित निकाल्यो। न्यु डायमण्डले आर्मीलाई २५–१२, २५–१८, २५–१७ को सोझो सेटमा पराजित गर्यो। खेलमा न्यु डायमण्डकी ललिता नाथ ओमन अफ द म्याच घोषित भइन्। दोस्रो खेलमा न्यु डायमण्डले श्रीगाँउलाई २५–१६, २५–१२, २५–७ को सेटमा हरायो। खेलमा डायमण्डकी पनमिका राई ओमन अफ द म्याच घोषित भईन्।
बुधबार नै भएको खेलमा टप्स उच्च माविले पनि दोहोरो जित निकाल्ने क्रममा पहिलो खेलमा मेघौलीलाई २५–८, २५–१५, २५–१४ को सेटमा पराजित गर्यो भने दोश्रो खेलमा टप्सले श्रीगाँउलाई २५–८, २५–१५, २५–१० को सेटमा हरायो।
मैघौलीसँगको खेलमा मन्जु गुरुङ तथा श्रीगाँउसँगको खेलमा परीक्षा गुरूङ ओमन अफ द म्याच घोषित भए।
प्रतियोगिताको एकमात्र अपराजित रहेको विभागीय टिम एपीएफ क्लबले अर्को विभागीय क्लब नेपाल पुलिसलाई २५–१६, २५–२१, २५–१० को सोझो सेटमा पराजित गर्यो। खेलमा एपीएफकी सरस्वती चौधरी ओमन अफ द म्याच घोषित भईन्।
प्रतियोगितामा दोश्रो चरण लिगको दोश्रो दिनको खेल सकिदा न्यू डायमण्ड १५ खेलबाट ४३ अंक जोड्दै शीर्ष स्थानमा कायम छ। १२ खेलबाट ३५ अंक जोडेको एपीएफ दोस्रोमा छ।
डायमण्डीकी प्रतिभा माली आर्मीविरुद्ध सट प्रहार गदै, फोटो : राखेप