
पोखरा : विश्वास श्रेष्ठले ह्याट्रिक गरेपछि बंगलादेशी क्लब उत्तर बरिन्धरालाई पराजित गर्दै रुस्लान थ्री स्टार क्लब १६औं आहा रारा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको पहिलो सेमिफाइनलमा थ्री स्टारले बंगालदेशी क्लबलाई ५-० को फरिकलो अनतरले हरायो।
वर्क वरमिटका कारण विदेशी खेलाडी खेलाउन नपाएको र फरवार्ड विमत घर्ती मगरसमेत भारतीय आइलिगको क्लब मोहन बगानमा अनुबन्ध भएपनि थ्री स्टारले ५ गोल गर्यो। उता अघिल्लो खेलमा बरिन्धराल क्लबका २ खेलाडीले रातो कार्ड पाएकाले दबाबमा रह्यो।
पोखरा रंगशालामा भइहरेको प्रतियोगिताको १६औँ संस्करणमा विश्वास ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बने। उनी सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा छन्।
घरेलु टोली थ्री स्टारले गोल गर्न भने ४१ मिनेटसम्म कुर्नुपर्यो। ४१औं मिनेटमा पोखरेली खेलाडी विष्णु गुरुङले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए। बुद्ध चेम्जोङले सिक्स यार्ड बक्सभित्र दिएको पासलाई गुरुङले गोल गरेका हुन्। त्यसभन्दा अघिसम्म बरिन्धराले गोल रोक्ने प्रयासमा मात्रै गरेको थियो। विश्वास श्रेष्ठको पासमा निराजन खड्काले ४५औं मिनेटमा थ्री स्टारको लागि दोस्रो गोल गरे। पहिलो हाफको इन्जुरी टाइममा विश्वास श्रेष्ठले निराजन खड्काको पासमा थ्री स्टारको तेस्रो गोल गरे।
पहिलो हाफमा ३-० ले अगाडि रहेको थ्री स्टारले दोस्रो हाफमा थप दुई गोल गर्यो। निराजन श्रेष्ठले मिलाईदिएको पासमा विश्वासले ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। ७५औँ मिनेटमा विश्वासले निराजनकै पासमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे।
३ गोल गरेका विश्वास म्यान अफ दि म्याच घोषित भए।
थ्री स्टारले अब उपाधिका लागि बिहीवार हुने धरान फुटबल क्लब र नेपाल पुलिसबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ।