PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय मर्मतका लागि सात करोड विनियोजन



पहिलोपोस्ट

प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय मर्मतका लागि सात करोड विनियोजन
तस्वीर : फाइल

पथरीः प्रदेश नम्बर १ मा प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि रु सात करोड विनियोजन गरिएको छ।

प्रदेश कार्यालय र मन्त्रालय रहने भवनको मर्मत–सम्भारसहित अन्य कामका लागि साढे सात करोड बजेट आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख श्याम किशोर सिंहले बताए। प्रदेश नं १ को अस्थायी राजधानीको संरचना मर्मतका लागि राज्यले सात करोड बजेट विनियोजन गरेको हो।

कार्यालय प्रमुख सिंहले दिएको जानकारी अनुसार विनियोजित बजेट मध्येबाट रु पाँच करोड कार्यालय मर्मत–सम्भार शीर्षकमा आएको हो। मन्त्रालयको फर्निचरका लागि रु एक करोड ५० लाख, तथा कम्पाउण्ड, पार्किङलगायत बाहिरी संरचना मर्मतका लागि रु एक करोड बजेट आएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार बजेटबाट कार्यालय मर्मतको काम सुरु गरिएको हो।

आचार्यका अनुसार मन्त्रालय रहने भवनमा रहेका सरकारी अड्डाको व्यवस्थापनको काम पनि सुरु गरिएको छ। मुख्यमन्त्री र प्रदेशका प्रमुख सचिव रहने क्षेत्रीय कृषि कार्यालयलाई भुइँतल्लामा सारिने बताइएको छ। पहिलो र दोस्रो तल्ला प्रदेश सचिव र मुख्यमन्त्रीका लागि छुट्याइएको हो। पूर्वाञ्चल क्षेत्रीय पशुसेवा कार्यालय जिल्लामा सार्ने तयारी गरिएको आचार्यको भनाइ छ।

उनका अनुसार प्रदेश प्रमुखको कार्यालय सार्नेगरी क्षेत्रीय वन निर्देशनालयको भवन खाली गरिएको हो। प्रदेशको अस्थायी मुकाम घोषणापछि क्षेत्रीय पशुसेवा कार्यालयमा प्रदेश प्रमुखको कार्यालय राखिएको थियो। तर सो भवन सानो भएपछि प्रदेश प्रमुखको कार्यालयलाई क्षेत्रीय वन निर्देशनालयमा सार्न लागिएको छ। प्रदेश प्रमुखका लागि क्षेत्रीय वन कार्यालयको दोस्रो र तेस्रो तला खाली गरिएको छ। पूर्व क्षेत्रीय वनको कार्यालय भुइँतल्लामा राखिने बताइएको छ।

त्यस्तै, मुख्यमन्त्री रहने क्षेत्रीय कृषि निर्देशनालयको कामकाज पनि भुइँतल्लाबाट सुरु गरिएको छ। प्रजिअ आचार्यका अनुसार प्रदेश सभा बैठक बस्ने जिल्ला समन्वय समितिको कार्यालय तेस्रो तल्लामा सारिनेछ। प्रदेश सभाको पहिलो बैठक यही माघ २२ गते बस्नेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell