काठमाडौं: चलचित्र निर्माताहरूको छाता संगठन चलचित्र निर्माता संघले चलचित्र विकास बोर्डले करिब दुई वर्षअघि लागु गरेको आचार संहिता खारेजीको माग गरेको छ। संघले चलचित्र विकास बोर्ड अध्यक्ष नीकिता पौडेललाई संघको तर्फबाट ज्ञापन पत्र बुझाउँदै आचार संहिता खारेजीको माग गरेको हो।
बोर्डले दुई वर्षअघि फिल्म निर्माणलाई नियन्त्रण गर्ने भन्दै निर्माण तथा निर्देशनमा मापदण्डहरू लागू गरेको थियो। सो मापदण्डमा फिल्म निर्देशन गर्न चाहानेले मान्यताप्राप्त शिक्षण संस्थाबाट फिल्म निर्देशन पढेको हुनु पर्ने वा नेपाली फिल्ममा विभिन्न भूमिकामा १० वर्ष काम गरेको हुनुपर्ने प्रावधान थियो। त्यसैगरी, निर्माताको हकमा पनि नयाँ निर्माताले अनुभव लिएपछि मात्र फिल्म निर्माण गर्न पाइने व्यवस्था थियो।
निर्माता संघका अध्यक्ष आकाश अधिकारीले मापदण्डले थुप्रै कानुनी तथा व्यवहारिक जटिलताहरू उब्जाएकाले यसको खारेजीको माग गरेको बताए।
संघले बुधबार अध्यक्षलाई बुझाएको ज्ञापनपत्रमा बक्स अफिस, चलचित्र नीति, सेन्सर समस्या र राम्रा विषयवस्तुमा बन्न लागेका चलचित्रलाई अनुवृत्ति (सब्सिडिज) आदि विषय पनि समेटिएका छन्। संघले बोर्डलाई विदेशी नियोगहरूमा नेपाली फिल्म फेस्टिभल गरी नेपाली फिल्मको प्रवद्र्धन गर्न पनि आग्रह गरेको थियो। संघले बोर्डलाई प्रस्तावित मितिमा बक्स अफिस लागु गर्न आग्रह गरेको छ। बोर्डले केही दिनअघि मात्र ५ सदस्यीय बक्स अफिस कार्यान्वयन समिति निर्माण गरी आउँदो २०७५ बैशाख १ गतेबाट उपत्यका भित्र परिक्षण गरी २०७५ श्रवण १ गतेबाट संचालनमा ल्याइने तथा मोफसलमा २०७५ माघ १ गते सम्ममा संचालनमा ल्याइने प्रतिबद्धता जनाएको थियो।
त्यसैगरी, सेन्सरका सम्बन्धमा पनि निर्माता र सेन्सर बोर्डबीच थुप्रै असमझारी रहेकाले ती असमझदारी हटाउन बोर्डलाई मध्यस्ता गर्न आग्रह गरेको छ। जवाफमा अध्यक्ष निकिता पौडेलले संघका मागहरू जायज रहेकाले आवश्यक अध्ययनपछि कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छिन्।