PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

दरबारमार्ग बलात्कार प्रकरण : फेरि अर्को छानविन समिति



सविन ढकाल

दरबारमार्ग बलात्कार प्रकरण : फेरि अर्को छानविन समिति

काठमाडौं : दरबारमार्गको बलात्कार प्रकरणबारे अनुसन्धान गर्न प्रहरीले अर्को छुटै छानविन समिति गठन गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी पूर्णचन्द्र जोशी नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

रानीपोखरीबाट गठित समितिले बिहीवारबाट नै अनुसन्धान शुरु गर्ने संयोजक एसएसपी जोशीले बताए। उनले भने, 'छानविन गर्ने कागज आइपुगेको छ। आजदेखि नै हामी अनुसन्धान शुरु गर्छौं।'

जघन्य अपराधको घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी महानगरीय प्रहरी परिसर काठमाडौं तानिएका छन्। परिसर काठमाडौंले पनि सोही घटना छानविन गर्न एसपी रामदत्त जोशीको नेतृत्वमा छानविन गठन गरिसकेको छ।

कारबाहीमा पर्नेमा डिएसपी तिलक भारतीसँगै इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरी समेत छन्। निरीक्षक लक्ष्मणसिंह ठकुरीलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको छ। आर्थिक प्रलोभनमा पीडित युवतीको उजुरी नै नलिइ घटना मिलाएको आरोप उनीहरुमाथि छ। गत बिहीवार काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरबारमार्ग बृत्त पुगेकी थिइन्। तर, बृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो।

फेसबुकमा चिनजान र केही समयको कुराकानीपछि युवकको प्रस्तावमा ती युवती बिहीवार होटेल पुगेकी थिइन्। होटलमा युवकले पहिले नै तीनवटा रुम बुकिङ गरेको र साथी समेत बोलाएर राखेको पीडित युवतीको बयान छ।

बिहीवार उनीहरुले बलात्कार गरेपछि युवती उजुरी दिन दरबारमार्ग पुगेकी थिइन्।

तर, प्रहरीको सहयोगमा युवतीलाई २० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिने सहमतिमा उजुरी दर्ता नगरी घटना मिलाइएको थियो। प्रहरीले उजुरी दिने युवती फरार भएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell