PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

भारतीय विदेशमन्त्रीको भ्रमणको समय उपयुक्त भएन : डा. शेखर कोइराला 



अनन्तराज न्यौपाने

भारतीय विदेशमन्त्रीको भ्रमणको समय उपयुक्त भएन : डा. शेखर कोइराला 

विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले भारतीय विदेश मन्त्री सुषमा स्वराज आउने समय उपयुक्त नभएको प्रतिक्रिया दिएका छन्। 

स्वराज आजै अपराह्न राजधानी आउने निश्चित भएका बेला काङ्ग्रेसका प्रभावशाली नेता कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन्। 

‘विश्व रङ्गमञ्चमा यस्तो हुन्छ, भारतका विदेश मन्त्री नेपाल आउनु अनौठो होइन’, बिहीबार मध्याह्न कोइराला निवासमा स्थानीय सञ्चारकर्मीसित शेखरले भने, ‘तर सरकार बनेपछि आएको भए राम्रो हुन्थ्यो।’

उनले थपे, ‘सुषमाजीलाई अहिलेको सरकारले बोलाएको त अवश्य होइन होला। यो सरकारसित स्वराजजीले कुरा गर्नुमा कुनै तुक पनि छैन। विशेष दूतका रूपमा ओलीजीले नै बोलाउनु भएको हो भन्ने कुरा मैले पनि फेसबुक र अन्य सञ्चार माध्यमबाट थाहा पाएको हुँ।’

कोइरालाले वाम गठबन्धनको सरकार निर्माण हुने निश्चित भएको उल्लेख गरे । 

उनले ओली नै भावी प्रधानमन्त्री भनेर वामपन्थी शक्तिबाटै प्रचार भइरहेका बेला स्वराजलाई अहिले नै किन बोलाइरहनु पथ्र्यो भन्दै आश्चर्य प्रकट गरे।

सम्पत्ति शुद्धिकरणका बारे ओलीको भनाई आपत्तिजनक

एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति शुद्धिकरण ऐनलाई प्रभाव पार्ने गरी भर्खरै दिएको अभिव्यक्तिप्रति नेता शेखरले आपत्ति प्रकट गरे।

‘भावी प्रधानमन्त्री भनिने नेताबाटै यस्तो भनाइ आएको छ’, डा. कोइरालाको कथन थियो, ‘ओलीजीले भनेको कुरा लागू हुने हो भने विश्व समुदायमा नेपाल अत्यन्त अप्ठ्यारोमा पर्छ। यो देशको इमेज ध्वस्त हुन्छ। आर्थिक रूपमा पनि मुलुक सङ्कटग्रस्त हुन्छ। अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा हाम्रो कुनै स्थान रहने छैन।’

नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयलाई अन्तर्राष्ट्रिय रूमै स्वीकार र हस्ताक्षर गरेको अनि नेपालको व्यवस्थापिका संसद्ले समेत स्वीकृत गरेको कोइरालाले उल्लेख गरे।

‘ओलीजीले कसका लागि बोल्नुभयो त्यो मलाई थाहा छैन तर मुलुकलाई नै ध्वस्त बनाउने हिसाबका कुरा गर्नुभयो’, शेखरको दाबी थियो, ‘तर उहाँले बोलेर पनि केही हुनेवाला छैन । किनकि सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐन नेपालमा बनिसकेको छ र यो ऐन कुनै हालतमा परिवर्तन हुनेवाला छैन। प्रधानमन्त्रीले नै भनेर पनि परिवर्तन हुँदैन।’

देउवाका ठाउँमा म भए राजिनामा दिन्थेँ

डा. कोइरालाले आफू अहिले शेरबहादुर देउवाजस्तै प्रधानमन्त्रीका कुर्सीमा भएको भए पदबाट राजीनामा दिइसकेको हुने थिएँ भन्ने धारणा प्रकट गरे।

उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचन गरेपछि मात्र यो सरकारको दायित्व पूरा हुन्छ भन्ने संविधानको एउटा धारा समातेर उहाँले प्रधानमन्त्रीको पद छाड्नु भएको छैन। तर राजिनामा दिएर कामचलाउ रूपमा बस्नु भएको भए राम्रो हुन्थ्यो। जनतामा राम्रो सन्देश जाने थियो। आखिर यो  सरकार पनि त कामचलाउ नै हो।’

उनले थपे, ‘जनताले प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका छन् । हामीले निर्वाचन हारेका छौँ र दोस्रो भएका छौँ । त्यसैले सरकारमा बसिरहनु उपयुक्त हुँदैन । खासमा यो विषयमा संविधानमै संशोधनको आवश्यकता छ । नभए त राष्ट्रिय सभाको निर्वाचन लम्बियो भने हरेक सरकारले आफ्नो आयु लम्ब्याइरहने भयो ।’

नेपाली काङ्ग्रेस सत्ताको चलखेलमा लाग्नु नहुने र आगामी ५ वर्षसम्म जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेर आफ्नो दायित्व पूरा गर्नुपर्ने उनले दाहोर्‍याए।

देउवा सरकारले नियुक्ति गर्न पाउँदैन

नेता शेखरले अहिलेको सरकार कामचलाउ प्रकृतिको भएको हुँदा यसले कुनै नियुक्ति र गम्भीर प्रकारको निर्णय गर्न नपाउने जिकिर गरे। 
‘यसरी फटाफट नियुक्ति र निर्णयहरू गर्नु गलत हो’, कोइरालाको कथन थियो, ‘वृद्धभत्ता र एकल महिलालाई दिइने भत्ताको निर्णय गर्दा मुलुकको आर्थिक अवस्था कस्तो छ, धान्न सक्छ कि सक्दैन भन्ने मूल्याङ्कन गर्नु आवश्यक हुन्थ्यो।’

उनको सुझाव थियो, ‘यसरी वृद्ध भत्ता बाँड्नु भन्दा मुलुकका सात वटै प्रदेशमा वृद्धाश्रमको स्थापना गरेर त्यहाँ वृद्धवृद्धालाई राखेर लालनपालन र औषधोपचारको व्यवस्था गर्नु उपयुक्त हुन्छ ।’  

प्रवक्ता शर्माको नियुक्ति अवैधानिक

नेता शेखरले पार्टीका सभापति शेरबहादुर देउवाले युवा नेता विश्वप्रकाश शर्मालाई प्रवक्तामा गरेको नियुक्ति अवैधानिक रहेको आरोप लगाए।

‘पहिलो त पार्टीको कार्य सम्पादन समिति नै अवैधानिक छ’, उनले भने, ‘कार्यसम्पादन समिति २१ सदस्यीय हुने भन्ने वैधानिक व्यवस्था छ। तर यो प्रावधानलाई मिचेर बढी सदस्य राखिएको छ। दोस्रो, कार्यसमितिमा पदाधिकारी र प्रवक्ता नियुक्त गर्दा कार्यसम्पादन समितिबाट गरिनुपर्ने भन्ने निर्णय भएको छ। केन्द्रीय कार्यसमितिमा निर्णय नै गरिएको छ। तर त्यो निर्णयलाई उल्लङ्घन गरेर प्रवक्ता नियुक्त गरियो। यो बिल्कुलै अवैधानिक छ ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell