PahiloPost

May 15, 2024 | २ जेठ २०८१

सातै प्रदेश सभामा दलको नेता छान्न कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि



नेत्र तामाङ

सातै प्रदेश सभामा दलको नेता छान्न कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि

काठमाडौं: नेपाली कांग्रेसले प्रदेश सभामा संसदीय दलको नेता चयनका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ।

प्रदेश १ मा डा मिनेन्द्र रिजाल, प्रदेश २ मा विमलेन्द्र निधि, प्रदेश ३ मा डिना उपाध्याय, प्रदेश ४ मा गोविन्द भट्टराई, प्रदेश ५ मा बालकृष्ण खाँण, प्रदेश ६ मा ह्दयराम थानी र प्रदेश ७ मा एनपी साउदलाई खटाएको हो।

प्रदेश सभा बैठक सुरु भइसकेको अवस्थामा दलले संसदीय दलको नेता छान्नु पर्ने प्रावधान रहेकोले नेता छान्न केन्द्रीय नेताहरुलाई पार्टीले जिम्मेवारी प्रदान गरिएको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।

स‌ंसदीय दलको नेता चयन भने राष्ट्रिय सभा सदस्यको निर्वाचण परिणापछि मात्र सार्वजनिक गर्ने कांग्रस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।

यसैगरी कांग्रेसले तीन सदस्यीय विधान मस्यौदा समिति गठनसमेत गठन गरेको छ। कांग्रेस केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालको संयोजकत्वमा बनेको समितिमा मुख्यसचिव पौडेल र सूचना अधिकारी केशव रिजाल रहेका छन्। 

यसै गरी कांग्रेसले प्रदेशसभाका सदस्यहरुलाई प्रभावकारी भुमिका निभाउन अभिमुखीकरण कार्यक्रम थाल्ने जनाएको छ।

यस्तो छ कांग्रेसको प्रदेश सांसदको अवस्था

 
प्रदेश १
प्रदेश सभा १ मा निर्वाचित र समानुपातिक गरी कुल ९३ सांसद छन्। जसमध्ये २१ जना प्रदेश सांसद कांग्रेको रहेको छ। यस प्रदेशमा हिमाल कार्की, अगमलाल चौधरी, राजीव कोइरालालगायत चर्चामा रहेकाहरु प्रत्यक्षबाट निर्वाचित भएका छन्। यस प्रदेशमा वाम गठबन्धनले प्रदेश सरकार बनाउने पक्कापक्की भइसकेको छ।

प्रदेश २
यस प्रदेशमा कुल १०७ सांसद रहनेछन्। जसमध्ये १५ जना मात्र कांग्रेसका प्रदेश सांसद रहेका यस प्रदेशमा रामसरोज यादव, ओमप्रकाश शर्मालगायत सांसद रहेका छन्। प्रदेश २ मा मधेशवादी दलले सरकार निर्माण गर्ने तयारी थालिसकेको छ।

प्रदेश ३
यस प्रदेशमा कुल ११० सांसद छन्। जसमध्ये कांग्रेसबाट २० जनामात्र सांसद रहेका छन्। कांग्रेसका नरोत्तम वैद्य, निमा लामा, पुकार महर्जनलगायत यस प्रदेशमा निर्वाचित भएका छन्। यस प्रदेशमा पनि वाम गठबन्धनले सरकार बनाउने छ।

प्रदेश ४
कुल ५७ सांसद रहने यस प्रदेश सभामा कांग्रेसबाट १४ जना सांसद छन्। कांग्रेसबाट प्रकाचन्द्र दवाडी, चिन्तबहादुर घलेऽ बिन्दुकुमार थापा लगायत निर्वाचित भएका छन्। यस प्रदेशमा पनि वाम गठबन्धनले नै सरकार बनाउने निश्चित छ।

प्रदेश ५
कुल ९० सांसद रहने यस प्रदेश सभामा कांग्रेसबाट जम्मा १९ जना सांसद रहेका छन्। अष्टभुजा पाठक, बसिउद्दीन खाँ, डिल्ली बहादुर चौधरी, फखरुद्दिन खानलगायत यस प्रदेशमा निर्वाचित भएका छन्। यसमा पनि वाम गठबन्धनले सरकार बनाउने निश्चित भइसकेको छ।

प्रदेश ६
कुल ४० सांसद रहेको यस प्रदेशमा कांग्रेसबाट ६ जनामात्र सांसद छन्। प्रत्यक्षमा जीवनबहादुर शाहीमात्र निर्वाचित भएकाले संसदीय दलको नेतामा उनले दाबी गर्ने कांग्रेस नेताहरु बताउँछन्। 

प्रदेश ७
कुल ५३ सांसद रहेको यस प्रदेश सभामा कांग्रेसबाट १२ सांसद रहेका छन्। कर्णबहादुर मल्ल, भरत बहादुर खड्का, रणबहादुर रावल र डिल्लीराज पन्त निर्वाचित सांसद हुन् भने ८ जना समानुपातिक सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell