PahiloPost

Mar 23, 2025 | ९ चैत्र २०८१

चार वटा मुख्यमन्त्री एमालेलाई, दुई वटा माओवादीलाई : पार्टी एकता संयोजन समितिद्वारा अनुमोदन



रासस

चार वटा मुख्यमन्त्री एमालेलाई, दुई वटा माओवादीलाई : पार्टी एकता संयोजन समितिद्वारा अनुमोदन

काठमाडौँ : चार वटा प्रदेशमा मुख्यमन्त्री र सभामुख एमालेलाई र दुई वटा प्रदेशमा माओवादी केन्द्रलाई दिने गरी प्रदेश सभाको शक्ति बाँडफाँट गर्ने निर्णयलाई दुई पार्टीको एकता संयोजन समितिले आज अनुमोदन गरेको छ। 

आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले दुई पार्टी सम्मिलित कार्यदलले पेश गरेको प्रतिवेदनलाई अनुमोदन गरेको हो। 

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष एवं कार्यदलका संयोजक वामदेव गौतमले कार्यदलले पेश गरेको प्रतिवेदनलाई बैठकले पारित गरेको जानकारी दिए।

बैठकले दुई पार्टी एकताबारे अझै कसरत नपुगेको ठहर गरेको छ। बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, “पार्टी एकताका सम्बन्धमा अझै दुई÷तीन चरणमा दुई पार्टीका शीर्ष नेतृत्वमा छलफल गरेर कार्यदल बनाउने कुरा भएको छ।” 

त्यसैगरी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणका वेला एमाले, माओवादी केन्द्रसहित वाम गठबन्धनले भेटघाट गर्ने क्रममा निर्वाचनमा आएको परिणामअनुसारको साझा जनमतलाई आधार बनाएर कुराकानी गर्नेबारे सहमति भएको जनाएको छ । 

बैठकमा एमाले अध्यक्ष ओली, उपाध्यक्ष वामदेव गौतम, नेताहरु ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु रामबहादुर थापा, वर्षमान पुन सहभागी थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell