.jpg)
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले प्रयोग गर्ने किट्सलाई स्पानिस स्पोर्ट्स कम्पनी केल्मीले प्रायोजन गरेको छ।
नेपाली फुटबल टोलीका लागि केल्मीले उत्पादन गरेको नयाँ जर्सी बिहीवार एक कार्यक्रमकाबीच एन्फा कम्प्लेक्समा सार्वजनिक गरिएको हो।
नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान भरत खवास र महिला राष्ट्रिय टिमकी कप्तान रेनुका नगरकोटीले नयाँ जर्सी सार्वजनिक गरे।
अखिल नेपाल फुटबल संघ (एन्फा) र केल्मीबीच एक वर्षको लागि भएको प्रायोजन सम्झौता अनुसार केल्मीले कूल ३ हजार ७८८ स्पोर्ट्स वेयर एन्फालाई प्रदान गर्नेछ।
सम्झौता अनुसार नेपालको पुरुष र महिला राष्ट्रिय टोलीसँगै जुनियर टोलीले समेत उक्त किट्स प्रयोग गर्नेछन्।
केल्मीले सन् १९९४ देखि १९९८ सम्म स्पेनको चर्चित फुटबल क्लब रियल मड्रिडको समेत किट्स बनाएको थियो।
नयाँ किट्स सार्वजनिक गरेपछि केल्मीका नेपाल डिस्ट्रिबुटर हेड प्रदिप न्यौपानेले एन्फासँग जोडिन पाउदा खुशी लागेको बताए। 'हामीले अहिले एक वर्षको लागि मात्र सम्झौता गरेका छौँ तर आगामी दिनमा हामी यसलाई थप गर्न तयार छौँ।' न्यौपानेले भने।
यस्तै एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले पनि एन्फासँग सहकार्य गरेकोमा केल्मीलाई धन्यवाद दिए। 'केल्मी चर्चचित कम्पनी हो र यससँग जोडिन पाउँदा हामी आभारी छौँ।' श्रेष्ठले भने। 'केल्मीले राष्ट्रिय टिमका लागि ५५ हजार अमेरिकी डलर बराबरको किट्स प्रदान गर्नेछ। हामीले जर्सी लेआउटमा धेरै परिवर्तन गरेका छैनौँ। रातो हाम्रो होम कलर हुनेछ र निलो अवे कलर हुनेछ।'