
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले २०१८ को सेप्टेम्वरमा एसीसी एसिया कप छनोट खेल्ने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी)ले बिहीवार सार्वजनिक गरेको २०१८ को क्यालेन्डर अनुसार एसिया कप छनोटमा ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
भारतमा हुने उक्त छनोट प्रतियोगितामा आइसीकोको वरीयताअनुसार एसियाका टेष्ट खेल्ने बाहेकका अन्य उत्कृष्ट टोलीले सहभागिता जनाउनेछन्। जसमा नेपालसहित हङकङ, मलेसिया, युएई, ओमान र सिंगापुर छन्।
यस छनोट प्रतियोगितामा च्याम्पियन बन्ने टोलीले पाँच टेष्ट राष्ट्रसँग एसिया कप खेल्न पाउनेछ। साथै एसीसी इमर्जिङ एसिया कप पनि खेल्न पाउनेछ। नेपालले गत वर्ष बंगलादेशमा भएको इमर्जिङ कप खेलेको थियो तर अहिलेसम्म एसिया कप खेलेको छैन।
एसिया कपमा टेष्ट खेल्ने पाँच राष्ट्रका सिनियर टिमले प्रतिस्पर्धा गर्नेछन् भने इमर्जिङ कपमा एसिया कपमा टेष्ट राष्ट्रबाट ११ जना २३ वर्ष मुनीका र ४ जना २३ वर्षमाथिका खेलाडीले खेल्ने आंइसीसीले जनाएको छ। यसपटक एसिया कप ५० ओभरको हुनेछ। अघिल्लो संस्करणमा एसीसीले टी-२० फर्म्याटमा एसिया कप गरेको थियो यसपटक भने वान डे फर्म्याटमा हुन लागेको हो।
एसिया कप भारतमै हुनेछ भने इमर्जिङ कपको खेलस्थल घोषणा हुन बाँकी छ।
एसिया कप छनोट खेल्ने बाहेकका राष्ट्रका लागि एसीसीले इस्टर्न र वेस्टर्न गरी दुई प्रतियोगिता समेत गर्नेछ। यही फेब्रुअरीमा थाइल्याण्डमा हुने इस्टर्न रिजनमा भुटान, चीन, म्यानमार र थाइल्याण्डले प्रतिस्पर्धा गर्नेछन् भने अक्टोबर/नोभेम्वरमा हुने वेस्टर्न रिजनमा बहराइन, इरान, कुवेत, माल्दिभ्स र साउदी अरेबियाले प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी एसीसी युथ एसिया कप अक्टोबरमा बंगलादेशमा आयोजना हुनेछ। जसमा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानका यूथ टोलीसँगै नेपाल, हङकङ र युएईको युथ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
यस्तै जुनमा महिला टी-२० प्रतियोगिता हुनेछ। जसमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, थांइल्याण्ड र आयोजकले मलेसियाले खेल्नेछन्। यसमा नेपाल भने सहभागि छैन।
यसबाहेक एसीसीले अप्रिलमा क्युरेटर वर्कसप राखेको छ भने अक्टोबर/नोभेम्वरमा लेभल-३ रिफ्रेसकर कोर्स राखेको छ।
एसीसीको जेनेरल मिटिङ जुनमा हुनेछ।