काठमाडौँ: दुई दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज औपचारिक राजनीतिक भेटघाट गर्दैछिन्। स्वराजले पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन्।
भेटमा द्धिपक्षीय हितका विषयमा छलफल भएको प्रचण्डले जानकारी दिए। उनले भने 'निकै राम्रो वातावरणमा चुनावपछिको स्थिति, सरकार गठनको बारेमा कुरा भयो। सद्भाव र सहयोग विकासको लागि भारतको सहयोग हुन्छ भन्नुभयो। अरु महत्वपूर्ण कुराहरु केही भएनन्।'
स्वदेश फर्कनुअघि आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नेछिन्। राष्ट्रपति भण्डारीसँग १२ बजे भेटको कार्यक्रम तय भएको छ। राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री देउवासँग भेट गर्ने कार्यक्रम छ।
यसअघि बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग होटल सोल्टीमा भेटवार्ता भएको थियो। एमाले स्थायी समिति सदस्यहरुसँग डिनर मिटिङ समेत भएको थियो।
बिहीबार नै राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालका नेताहरुसँग स्वराजले भेट गरेकी थिइन।
स्वराज दुई दिने भ्रमण सकेर आजै दिउँसो ३ बजे स्वदेश फर्कने कार्यक्रम छ।
