PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रदेश ४ मा दुई मन्त्रालय सञ्चालनमा, प्रमुख सचिवसहितले कार्यभार सम्हाले



नरहरि पौड्याल

प्रदेश ४ मा दुई मन्त्रालय सञ्चालनमा, प्रमुख सचिवसहितले कार्यभार सम्हाले

कास्की: पहिलोपटक संघीय संरचनामा प्रदेश नम्बर ४ मा मन्त्रिपरिषद् कार्यालयसहित दुई मन्त्रालय सञ्चालनमा आएका छन्। बिहीबार प्रदेशको प्रमुख सचिवसहित तीन सचिवले कार्यभार सम्हालेका छन्। सचिवहरुले कार्यभार सम्हालेपछि प्रदेशसभा बस्नुअघि नै मन्त्रिपरिषद्को कार्यालय सुरु भएको हो।

साविकका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले प्रदेश नम्वर ४ मा प्रमुख सचिवको कार्यभार सम्हाले भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको रुपमा लालमणि ओझाले कार्यभार सम्हालेका छन्। त्यसैगरि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा फणीन्द्रमणि पोखरेलले जिम्मेवारी लिएका छन्।

निर्माणाधीन सीप विकास केन्द्रको भवनमा प्रदेश ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामला तथा योजना मन्त्रालय स्थापना गरिएको छ। मुख्यमन्त्रीसहित अरु ३ मन्त्रीले पदवहाली गर्न सक्ने गरी मन्त्रालयको तयारी पूरा भएको प्रमुख सचिव अर्यालले जानकारी दिए।

अहिले प्रशासनिक रुपमा प्रदेशका संरचना प्रमुख प्राथमिकतमा रहेको सचिव अर्यालले बताए।

‘संसदीय दलको बैठकपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुहुन्छ’ उनले भने ‘मुख्यमन्त्री नियुक्त भएसँगै प्रान्तीय सरकारको कामले निरन्तरता पाउँनेछ।’

उनले प्रादेशिक मन्त्रालयमा सचिवहरुले जिम्मेवारी वहन गरेको बताउँदै त्यसपछि राजनीतिक नेतृत्व आएपछि प्रदेशको संरचनाको नेतृत्व लिने बताए।

प्रदेश तहमा सातवटा मन्त्रालय राख्ने तयारी गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमि, कृषि तथा सहकारी मन्त्रालय प्रादेशिक तहमा कायम हुनेछन्।

हालको क्षेत्रीय शिक्षा निर्देशनालयको कार्यालयमा सामाजिक विकास मन्त्रालय, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सहरी विकास तथा भवन डिभिजन कार्यालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय र वन कार्यालयको निर्माणधीन भवनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहनेगरि तयारी गरिएको अर्यालले जानकारी दिए।

प्रदेश ४ को प्रदेश सभाको पहिलो बैठक २२ माघमा हुँदैछ। उक्त बैठकका कार्यसूची तयार भइसकेका छन्। बैठकले प्रदेश संसद सञ्चालन सम्बन्धी कार्यविधि पारित गर्नुका साथै सभामुख र उपसभामुखको निर्वाचन मिति पनि तय गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell