PahiloPost

Mar 23, 2025 | ९ चैत्र २०८१

कल्याणपुरका तीन वडामा १६ वर्ष मुनिकालाई मोबाइल र मोटरसाइकल प्रयोगमा रोक



रासस

कल्याणपुरका तीन वडामा १६ वर्ष मुनिकालाई मोबाइल र मोटरसाइकल प्रयोगमा रोक
प्रतीकात्मक फोटो: श्रोत-digitaltrends.com

लहान: अबदेखि सिरहाको कल्याणपुर वडा कार्यालयले नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित जरिवाना गर्ने भएको छ। 

साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ। 

कल्याणपुर नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय बैठकले कल्याणपुर नगरपालिका वडा नं ४, ५ र ६ मा मदिरा बिक्री वितरण, प्रयोग तथा भोजपुरी भाषाको अश्लील गीत बजाउन रोक लगाउने निर्णय गरेको हो। 

जाँडरक्सी सेवन तथा भोजपुरी भाषाका अश्लील गीतका कारण समाजमा विकृति विसंगति, होहल्ला, झैझगडा हुने गरेकाले त्यसलाई नियन्त्रण गरी समाजमा शान्तिपूर्ण वातावरण बनाउन मदिरा बिक्री वितरण र प्रयोगमा निषेध गरिएको बडा नं ६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिए। 

तीनै वडा क्षेत्रभित्रका पसलमा रहेका जाँड रक्सी माघ मसान्तभित्र बिक्री वितरण गरिसक्न निर्देशन दिँदै फागुन १ गतेदेखि पसलमा मदिरा पाइएमा पहिलोपटक पसलेलाई रु पाँच हजार र प्रयोगकर्तालाई रु दुई हजार जरिवाना गर्ने निर्णय गरिएको वडाध्यक्ष राइनले बताए। 

बैठकले तीनवटै वडामा अश्लीलखालका भोजपुरी गीत बजाउन रोक लगाउँदै निर्णय विपरीत भोजपुरी गीत–सङ्गीत बजाएमा रु पाँच हजार जरिवाना गर्ने निर्णय गरिएको समेत जानकारी दिइएको छ। 

बैठकले १६ वर्षमुनिका युवा–युवतीलाई मोबाइल र मोटरसाइकल प्रयोग गर्न रोक लगाइएको र निर्णय विपरीत मोबाइल र मोटरसाइकल प्रयोग गरेको पाइएमा पहिलो पटक रु ५०० जरिवाना गर्ने निर्णय गरिएको वडाध्यक्ष राइनले जानकारी दिए। 

कल्याणपुर नगरपालिकालाई नै मदिरामुक्त बनाउने लक्ष्यअनुरुप पहिलो चरणमा तीन वटा वडालाई मदिरा बिक्री वितरण र भोजपुरीको अश्लील गीत बजाउन निषेध गर्ने निर्णय गरिएको वडाध्यक्ष राइनको कथन छ। सर्वपक्षीय बैठकमा जनप्रतिनिधि, स्थानीय व्यापार संघका पदाधिकारी, स्थानीय सुरक्षा निकायका प्रमुख तथा समाजसेवीको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell