काठमाडौं: निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतपत्र छापिसकेको जनाएको छ। २४ गते हुने राष्ट्रिसभा निर्वाचनको लागि आयोगले १२ हजार मतपत्र छापेको छ।
केही दिन पहिले अयोगले निर्वाचनको लागि आठ प्रकारका नमुना मतपत्र सार्वजनिक गरेको थियो।
५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना निर्वाचित गर्नु पर्ने हुन्छ। २४ जना उम्मेदवार राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएपछि अब ३२ जना सदस्यहरुको लागि निर्वाचनमा प्रतिस्पर्धा हुने आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल भने, ‘आयोग राष्ट्रियसभा निर्वाचनको तयारी गरिरहेको छ। निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामाग्री २१ गते भित्र आयोगले निर्वाचन केन्द्रमा पुर्याउने छ।’
मतदाताहरुलाई मतसंकेत सिकाउने, मतदान केन्द्रको व्यवस्था र सुरक्षा व्यवस्था लागयतका विषयमा आयोगले काम गरिरहेको छ।
‘निर्वाचनको तयारी भइरेहको छ,’ ढकालले भने, ‘माघ २१ भित्र निर्वाचनको लागि आवश्क पर्ने सम्पूर्ण निर्वाचन सामाग्री निर्वाचन केन्द्रमा पुर्याउने छौ।’
एक निर्वाचन केन्द्रमा १० जना कर्मचारी खटाईने छ। एक निर्वाचन क्षेत्रमा दुई निर्वाचन केन्द्र रहने छन। प्रत्येक प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा निर्वाचन केन्द्र रहने छन।
राष्ट्रियसभा निर्वाचनको मत गणनाको लागि आयोगले ५/५ जनाको टिम पठाउने छ। मतगणनामा सघाउन अरु कर्मचारी पनि पठाउन सक्ने आयोगले जनाएको छ। आयोगले ३ दिन भित्र मतगणना सार्वजनीक गरी सक्ने जनाएको छ।
