PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

छोटे राजा प्रवृत्ति कायम रह्यो भने सुशासन कायम गर्न सकिँदैन: प्रचण्ड



पहिलोपोस्ट

छोटे राजा प्रवृत्ति कायम रह्यो भने सुशासन कायम गर्न सकिँदैन: प्रचण्ड

काठमाडौं: पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुशासन बिना विकास र समृद्धि सम्भव नहुने बताउनु भएको छ।

शुक्रबार दिउँसो काभ्रेको धुलिखेलमा नेपाल ह्याचरी उद्योग संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले विकास र समृद्धिको कुरा गरेका छौं। तर, सुशासन बिना विकास र समृद्धि सम्भव छैन। राज्यको दह्रो हात बनाएर कार्यान्वयनमा प्रभावकारी रुपमा नजाने हो भने सुशासन स्थापित हुँदैन, सुशासन नभइकन विकास र समृद्धि हासिल गर्न पनि सकिँदैन।’

‘घोषणा ठूलो कुरा होइन, कार्यान्वयन ठूलो कुरा हो’ अध्यक्ष प्रचण्डले भने, ‘अहिलेका ऐन, कानून, नीति, नियम र कर्मचारीको सोच्ने तरिका तपाई हामीसँग मिल्दैन। हिजो राजा महाराजा थिए, तिनले तलसम्म त्यस्तै सिष्टम बसाए। राजनीति र कर्मचारीमा पनि छोटे राजाको प्रवृत्ति कायम थियो, त्यो संस्कारकै रुपमा हुर्कियो। यस्ता नीति नियममा परिवर्तन नगर्ने हो भने, पुरानो सोंचका विरुद्ध नलड्ने हो भने सुशासन कायम गर्न सकिँदैन, यसमा राज्यको बलियो हात चाहिन्छ।’

‘नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ। मूख्य रुपमा हामीमा ईच्छाशक्ति हुनुपर्छ’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘पोल्ट्री व्यवसाय नेपालमा आत्मनिर्भर भएको छ। कृषि र कृषिमा आधारित क्षेत्रहरुलाई मात्रै आत्मनिर्भर बनाउन सक्यौं भने विकासको आधार त्यही हुन्छ। अब तपाई हामी सबैको ध्यान त्यतातिर जानुपर्छ।’

अहिले सम्म राज्यले किसानलाई प्रोत्साहन नगरेको उल्लेख गर्दै प्रचण्डले भने, ‘हिजो राज्यले काम गर्नेलाई प्रोत्साहन गरेन। झन सिर्जनात्मक काम गरी देशलाई आत्मनिर्भर बनाउने लाई दुरुत्सान गर्ने खालको देखियो।’ 

पुरानो सोचका विरुद्ध नलडे सुशासन कायम गर्न नसक्ने भन्दै उनले यसमा राज्यको बलियो हात चाहिने बताए। 'प्रधानमन्त्रीले भनेर पनि भन्सारबाट एउटा सामान छुटाउन नसकिने भने पछि यो कस्तो सिस्टम हो? के यो जनतालाई भलो हुने सिस्टम हो त?' प्रचण्डले प्रश्न गरे।
उनले दुरदराजका जनता राज्यबाट पाउने सेवा सुविधाबाट समेत बञ्चित रहेको बताए।

'काभ्रेको महाभारत गाउपालिका लाई कर्णाली भनिदो रहेछ,' प्रचण्डले भने, 'यहाँ कोही ठुलो नेता पुगेको रहेन छ। म त्यहाँ पुगेको थिए। जनताको सेवाका लागि आएका व्यक्तिहरु पनि बनेपाबाट उता जाने स्थिति रहेन छ। यसको मतलब सेवा प्रदायक गर्ने संस्थाहरु अग्रसर नभएको हो।' 

सुशासनको अभाब महसुस गर्दै उनले भने, 'सुशासन कायम गर्न राज्यले कठोर कदम नचालेर पनि सम्भव हुँदैन। हामीले भनेको स्थायित्व र विकासका लागि यो ऐतिहासिक अवसर हो। 

वाम गठबन्धनले शुसासन र स्थायित्व दिने भनेकोले जनताले विश्वास गरेको भन्दै उनले पुरानो काम गर्ने सिस्टममा रेडिकल रिफर्म गर्नु पर्ने बताए। रोडिकल रिफर्म गरे सबै क्षेत्रमा नयाँ तरंग पैदा हुनसक्ने प्रचण्डले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell