
वीरगंज: बारामा प्रहरी हवलदार शेष मसिरुलको टोलीमाथि संघातिक आक्रमण गरी पेस्तोलसमेत लुट्ने तस्कर समूहका मुख्य नाइके फुलेना साह गोढ पक्राउ परेका छन्।
उनलाई बारा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। बारा प्रहरीका प्रवक्ता डिएसपी भुवनेश्वर साहले गत बैशाख ४ गते कलैया उपमहानगरपालिका वडा नं १२ धर्मनगरमा भएको घटनाका मुख्य नाइके पक्राउ परेको जानकारी गराए।
प्रहरीले ९ महिनापछि प्रहरीको पेस्तोल लुट्ने अपराधीलाई समात्न सफल भएको हो। उनलाई म्याद थप गरी अवश्यक कारवाही चलाएको डिएसपी साहले जानकारी दिए। कपडा,चिनी र मल तस्करहरुले धर्मनगर भएर लगिदै छन् भन्ने सुराकीको अधारमा जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी हवलदार शेष मसिरुलको कमान्डमा ४ जनाको टोलीलाई स्पटमा पठाएको थियो।
तर तस्कर गिरोह दुई दर्जनको संख्यामा भएकोले ढुँगा प्रहार गरी प्रहरीमाथि संघातिक आक्रमण गर्दै पेस्तोल लुटेर नेपाल ईटा उद्योगमा लुकाएका थिए।
जुन सर्टगन पेस्तोल सोही दिन बारा प्रहरीले फेला परेको थियो र अपराधी गिरोह फरार भयो। यस घटनामा बाराका केही प्रहरी अधिकृतसमेत कारवाहीमा परेका थिए।