
पोखरा : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दुई वाम पार्टीबीचको पार्टी एकता जुनसुकै हालतमा भएरै छोड्ने बताएका छन्। उनले शुक्रबार देखि पोखरामा शुरु भएको नेपाल राष्ट्रिय बाणिज्य संघको दोस्रो अधिबेशनलाई सम्बोधन गर्दै पार्टी एकताको बारेमा फैलाइएका हल्लाहरु निराधार भएको भन्दै त्यस्ता हल्लाहरु एकता भाड्ने नियोजित षड्यन्त्र भएको बताए।
नेता पोखरेलले एकिकरण प्रक्रिया जनता र कार्यकर्ताको चाहाना भएको बताउँदै जस्तासुकै जालझेललाई परास्त गर्दै सांगठानिक एवं बैचारिक हिसाबले पार्टी एकीकरण हुने बताए। ‘अब छिट्टै पार्टी एकीककरणको निम्ती सांगठनिक ब्यबस्थापन गरी दुई कार्यदल बन्नेछन्’ उनले भने, ‘त्यही दुईदलबीचको कार्यदलले एकता प्रक्रियाका बारेमा आवश्यक गृहकार्य गर्नेछ।’
दुवै पार्टी भित्र र बाहिर केहि व्यक्तिहरु एकता भाँड्ने पक्षमा रहेको बताउँदै नेता पोखरेलले एकता बिरोधि तत्वहरु आफै सकिने दावी समेत गरे। उनले बिगतमा दुई पार्टीको विचार र सिद्धान्त फरक रहेपनि देशको विषम परिस्थितीलाई मुल्याङकन गरेर दुवै पार्टीले एकीकरण प्रक्रियालाई थालेको बताए।
पोखरेलले सरकार गठनको मोडालिटी तयार हुदै गरेको र अब तिब्र गतिमा देशलाई विकास र सम्बृद्धितर्फ लग्नेगरी सरकार संचालनको कार्यदिशा तयार हुदै गरेको जानकारी दिए।
तर एमाले सचिब पृथ्बी सुब्बा गुरुङले भाबानाका कुराले मात्रै एकीकरण नहुने भन्दै सैदान्तिक र सांगठनिक दुवै हिसाबले तयारि भएपछी मात्रै एकता घोषणा हुने बताए। गुरुङले आलो पालो र पद बाँडेर नभई एकीकृत महाधिबेशनपछी पार्टी अध्यक्ष नै प्रधानमन्त्री हुनुपर्ने धारणा राखे।
त्यस्तै एमाले स्थायी कमिटि सदस्य तथा प्रदेश नम्वर ४ का संयोजक किरण गुरुङले सम्बृद्ध अर्थतन्त्र नै देश विकासको मेरुदण्ड भएको हुदा एक कुशल र प्रभाबकारी नेतृत्वबाट मात्रै सो सम्भब रहेको बताए। उनले भत्ता मात्रै बाडेर देशलाई कंगाल बनाउने नभई अब आम जनतालाई उत्पादनमुखी काममा अबसर सृजना गर्ने तर्फ आफ्नो पार्टी लाग्ने बताए।