PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

वीरगंजको पोल्टामा मुख्यमन्त्रीको सरताज, लालबाबु प्रदेश २ हाँक्ने दिशामा



राधेश्याम पटेल

वीरगंजको पोल्टामा मुख्यमन्त्रीको सरताज, लालबाबु प्रदेश २ हाँक्ने दिशामा

वीरगंज : प्रदेश नं २ को मुख्यमन्त्री बन्ने दिशामा संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष तथा पर्सा १ (ख)बाट विजयी प्रदेश सांसद लालबाबु राउत अघि बढेका छन्।

प्रदेश दुईको सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरम नेपालले आज सर्वसम्मतिले संसदीय दलको नेतामा लालबाबुलाई चुनेपछि उनले नै मुख्यमन्त्रीको पहिलो सरताज पहिरिने लगभग पक्का भएको छ।

प्रदेश सभाको बैठक सकेर वीरगंज फर्किन लागेका फोरमका नेता सल्लाउद्दीन अहमदले पहिलोपोस्टसँग संक्षिप्त कुराकानी गर्दै संसदीय दलको नेता लालबाबु राउत चुनिएको जानकारी दिए।

‘पार्टीले लालबाबु सरलाई संसदीय दलको नेता सर्वसम्मतिले  चुनेको छ। त्यसैले उनी मुख्यमन्त्री बन्ने दिशामा अघि बढेक छन्,’ फोरम नेपालका प्रदेश नं २ का सचिवसमेत रहेका नेता अहमदले भने, ‘ठूलो पार्टी भएको नाताले फोरम नेपालले नै मुख्यमन्त्री पाउने सम्भावना छ। यदि फोरम नेपाल–राजपाले गठबन्धनमा हैसियतको अधारमा सरकार बनाए भने उनी नै मुख्यमन्त्री बन्छन्।’

संसदीय दलको नेतामा ७ जनाको निर्वाचन कमिटीमा उम्मेदवारी परेको थियो। फोरम नेपालका नेताहरुले लालबाबुको अगाडि कसैले आपत्ति वा विरोध गरेनन्।

अर्का दावेदार सिरहा निवासी तथा पार्टीका कोषाध्यक्ष विजय यादव र सप्तरीका शैलेन्द्र साह मन्त्री पाउने आश्वासन पाएपछि पछि हटेको अनुमान गरिएको छ।

फोरम नेपालकी नेतृ रेणु यादवको संयोजकत्वमा बनेको निर्वाचन कमिटीमा पर्साकै प्रह्लाद गिरी,रौतहटका योगेन्द्र यादव,महोत्तरीका सरोज सिंह, धनुषाका कौशल यादव, सप्तरीका शैलेन्द्र साह, सिरहाका विजय यादव र लालबाबुको उम्मेदवारी परेको थियो।

संविधान अनुसार प्रदेश २ मा कुनै पनि दलको स्पष्ट बहुमत नभएकोले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने पत्र प्रदेश प्रमुखलाई बुझाए उक्त दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ। प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएकोले मितिले तीस दिनभित्र यस्तो नियुक्ति भइसक्नु पर्नेछ। 

यदि त्यस्तो अवस्था नभएमा प्रदेश सभामा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ। 

यसरी नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। 

प्रदेश २ मा कूल सिट १०७ रहेकोमा बहुमतका लागि ५४ सिट आवश्यक हुन्छ। यहाँ फोरमको २९, राजपाको २५ सिट रहेको छ। एमालेको २१, कांग्रेसको १९, माओवादीको ११ सिट छ भने नेपाल संघीय समाजवादी पार्टी १ र स्वतन्त्र १ सिट रहेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell