PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

प्रदेश २ को प्रदेश सभाको पहिलो बैठक यस्तो रह्यो



राधेश्याम पटेल

प्रदेश २ को प्रदेश सभाको पहिलो बैठक यस्तो रह्यो

वीरगंज : छिटफुट अवरोधका बीच प्रदेश नं २ को पहिलो बैठक आइतबार जनकपुरमा सम्पन्न भयो।

धार्मिक नगरी जनकपुरको आकर्षणको केन्द्र यसपालि जानकी मन्दिर नभई क्षेत्रीय शिक्षा निर्देशलय बन्यो। किनभने बैठक त्यसैको सभा हलमा डाकिएको थियो। नेता,कार्यकर्ता तथा पत्रकार शनिबार साँझदेखि नै जनकपुर ओइरिएका थिए। बिहानैदेखि जनकपुरको गल्लीगल्लीमा ऐतिहासिक  बैठक बस्दैछ भनी सञ्चार माध्यमले समाचार घन्काई सकेका थिए। 

११ बजे बिहान शुरु हुने भनिएको प्रदेश सभाको बैठक प्राविधिक कठिनाइका बीच करिब सवा १ घण्टा ढिलो अर्थात सवा १२ बजे प्रारम्भ भयो। सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने जिम्मा एमाले प्रदेश सासद तथा वरिष्ठ सदस्य लगनलाल चौधरीले पाएका थिए। उनले सभा शुरु गरेको केही मिनेटमै राजपाका मनिष सुमन र डा. डिम्पल झाले बैठकमा सहीदहरुको फोटो नझुण्डयाइएको विषयमा विरोध जनाउँदै हंगामा गरे।

त्यसपछि सभा सञ्चालक चौधरीले अगाडि माघ २७ गते तोकिएको दोस्रो बैठकमा आफनो दाहिने साइडमा सहीदको फोटो झुण्डयाउने  आश्वासन दिँदै बैठक प्रारम्भ गरे।

बैठकको बेला मर्यादापालकहरु पनि फर्मल पोसाकमा थिएनन्।औपचारिक पोसाकको विषयमा विवाद खडा भएपछि उनीहरु अनौपचारिक पोसाकमा (आफूले जे मन लाग्यो,त्यही लगाएको) देखा परे।

बैठक विशेष परिस्थितिमा बसिरहेकोले पहिलो बैठकमा संसदीय दलको हैसियतमा विभिन्न राजनीतिक दलका नेताहरुले तोकिएको समयमा आफ्नो शुभकामना वक्तव्य दिएका थिए। सभामुखको जिम्मेवारी निर्वाह गरिरहेका चौधरीले ठूलो दल फोरम नेपाललाई १४ मिनेट,राजपालाई १२ मिनेट,एमालेलाई १० मिनेट,कांग्रेसलाई ९ मिनेट ,माओवादी केन्द्रलाई ६ मिनेट र स्वतन्त्र सांसदलाई ५/५ मिनेटको समय तोकेका थिए।

एमालेका तर्फबाट विवादका कारण दुई जनाले ५/५ मिनेट समय लिएर आफनो धारणा राखे। सबैभन्दा पहिले फोरम नेपालका नेता लालबाबु राउत,राजपाका जीतेन्द्र सोनार,एमालेका सत्यनारायण मण्डल,काग्रेसका तर्फबाट राजसरोज यादव,माओवादीका भरत साह,स्वतन्त्र सासद अब्दुल कलाम अजाद र नेपाल संघीय समाजवादी पार्टीकी सांसद सुमित्रा देवी र एमालेका अर्का शत्रुघन महतो अन्त्यमा बोले।

पहिलो बैठक अन्तरिम कार्यविधि २०७४ पारित गर्दै आगामि माघ २७ गते १ बजेसम्म स्थगित गरिएको छ भने फागुन २ गते सभामुखको निर्वाचन मिति तय गरेको छ।

प्रदेश २ र  देशकै चासोको विषय  प्रदेश २ को नाम,कामकाजको भाषा र स्थायी राजधानीको विषयमा  आगामी बैठकले छिनोफानो गर्ने बताइएको छ।

राजपाका नेता जीतेन्द्र सोनारलले मुख्यमन्त्री,राजधानी,प्रदेशको नाम र कामकाजको विषयमा कुनै पार्टी वीच औपचारिक वा अनौपचारिक छलफल नभएको जानकारी गराए। मुख्यमन्त्री फोरम नेपाल वा राजपाबाटै बन्ने सम्भावना रहेकोले सभामुखको निर्वाचनपछि मुख्यमन्त्रीको चयन हुने उनले ठोकुवा गरे।

‘आजै ५५ जना सासदको लिस्ट लिएर गइयो भने प्रदेश प्रमुखले मुख्यमन्त्री नियुत्त गर्न सक्छन्,’नेता सोनारले पहिलोपोस्टसंग भने,‘तर सबै कुरा प्रकृयाबाट सहजै हुन्छ,चिन्ताको विषय छैन् ।त्यसपछि अगामिका अधिवेशन सत्रमा पेश हुने कार्यसूचिको अधारमा प्रदेशको नामाकरण,स्थायी राजधानी र प्रदेशको कामकाजको भाषा माथि छलफल गराई पारित गराइन्छ। यो सब गर्दा फागुन मसान्त सकिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell