कास्कीः प्रदेश नम्बर ४ को प्रदेश सभा बैठक सोमबार पोखरामा बस्दैछ। प्रदेश सभाको पहिलो बैठक बस्ने स्थानको भवन तथा अन्य व्यवस्थापन सकिएको छ। प्रदेश सभाको बैठक हुने नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको हलसहितका भवनहरु आकर्षक तुल्याइएको छ।
नगर प्रशिक्षण केन्द्रको हलमा कापेर्टिङ गरिएको छ। टेबल, कुर्सी मिलाउनेदेखि रङरोगनका काम सकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए।
नदीपुरको नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा प्रदेश सभाको तयारीका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएको प्रजिअ अधिकारीले बताए। ‘कार्यालय र प्रदेश सभाका पदाधिकारीका निवास लगायत अन्य संरचनाको पनि मर्मत र विस्तारको काम करिव अन्तिम चरणमा छ’ उनले भने ‘अब, बैठक, कार्यालय र मन्त्रालयको व्यवस्थापन कार्य हुन्छ।’
यसअघि सम्पन्न सर्वदलीय बैठकले प्रदेश सभा सञ्चालन कार्यविधि २०७४ पारित गर्ने निर्णय समेत गरेको छ। प्रदेश सभाको सोमबार बस्ने बैठकको सञ्चालनको समय डेढ घण्टाको हुने प्रदेश सभाका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए।
उनका अनुसार बैठकमा ३ ठूला दलका ३÷३ जना र साना २ दलबाट १/१ जना गरी ११ जना सांसद्ले बोल्ने व्यवस्था मिलाइएको छ।
सर्वदलीय बैठकले सभामुखको फागुन ३ र उपसभामुखको ६ गते निर्वाचन गर्ने सहमति जुटाएको छ।
सभामुखको निर्वाचनअघि नै मुख्यमन्त्री चयन हुने सम्भावना पनि छ। मुख्यमन्त्रीमा एमालेबाट पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ मुख्य प्रतिश्पर्धी छन्।
प्रदेशसभा बैठकस्थलमा नेपाल प्रहरीका निरीक्षकको नेतृत्वमा ५५ जना मर्यादापालक खटिनेछन्। सभास्थल बाहिर २५ जना सुरक्षाकर्मी खटाइने छ। ६० सदस्यीय प्रदेशसभाको बैठक बस्ने स्थलमा सांसदका लागि माइकसहितका कुर्सी मिलाएर राखिसकिएको छ। बैठक हेर्न त्यसभन्दा पछिल्लो भागमा अन्य सहभागीका लागि ६० र सञ्चारकर्मीका लागि स्थान छुट्याइएको छ।
प्रदेशसभामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति गरी ५ दलको प्रतिनिधित्व छ। प्रदेश ४ मा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ गरी कुल ६० सदस्य छन्।
‘प्रदेश सभाको पोशाक तय’
सर्वदलीय बैठकले प्रदेश सभा बैठकका प्रक्रिया सम्बन्धमा छलफल गरी पोशाकबारे पनि निर्णय गरेको छ।
बैठकमा पुरुष तथा महिला सदस्यलाई तीन प्रकृतिको पोशाक निर्धारण गरिएको छ। पुरुष सदस्यले दौरा/सुरुवाल र कोट वा सुट पाइन्ट वा आ–आफ्नो जातीय पहिचानको सांस्कृतिक पोशाक लगाउनु पर्ने व्यवस्था गरिएको छ। महिला सदस्यका लागि साडी÷चोलो वा सुट पाइन्ट वा जातीय पहिचानको सांस्कृतिक पोशाक निर्धारण गरिएको छ।