
वर्तमान विश्व फुटबलका दुई चर्चित खेला८ क्रिस्टियानो रोनाल्डो र नेमार जुनियरको आज जन्मदिन परेको छ।
स्पानिस जायन्ट रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने पोर्चुगलका क्रिस्टायनो रोनाल्डोको आज ३३औँ जन्मदिन हो। यस्तै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीबाट क्लब फुटबल खेलिरहेका नेमार २६ वर्षका भए।
सन् १९८५ मा फुन्चल मडेइरियामा जन्मेका रोनाल्डोको पुरा नाम क्रिस्टियानो रोनाल्डो डस सान्तोष एभेइरियो हो। उनको बुबाको मन पर्ने अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको नामबाट उनको नाम रोनाल्डो राखिएको हो।
पोर्चुगलकै स्पोर्टिङ लिस्वनबाट क्लब करियर सुरु गरेका थिए। सन् २००३ मा १८ वर्षको उमेरमै म्यानचेष्टर युनाइटेडबाट खेलेका रोनाल्डो २००९ मा मड्रिड पुगेका हुन्। रोनाल्डोले अहिलेसम्म क्लब र राष्ट्रका लागि ८९३ खेलमा ६२८ गोल गरेका छन्।
यसैगरी नेमार सन् १९९२ मा ब्राजिलको मेगी दास क्रजमा जन्मेका थिए। ब्राजिलियन क्लब सान्तोसबाट व्यावसायिक फुटबल करियर सुरु गरेका नेमारले स्पानिस क्लब बार्सिलोनाबाट समेत खेलिसकेका छन्। नेमारको पुरा नाम नेमार दा शिल्भा सान्तोस जुनियर हो।
नेमारले ५१८ खेलमा ३२१ गोल गरिसकेका छन्।
आजै अर्जेन्टिनाका खेलाडी कार्लोस टेभेजको पनि जन्मिन हो। सन् १९८४ मा राजधानी व्युनर्स आर्यासस्थित सिडाडेलामा जन्मेका टेभेज ३४ वर्षका भए। हाल उनी अर्जेन्टिनाकै बोका जुनियर्सबाट क्लब फुटबल खेल्छन्।