PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

४५ मिनेटमा सकियो प्रदेश १ को बैठकः सभामुखको निर्वाचन माघ २९ मा



अनन्तराज न्यौपाने

४५ मिनेटमा सकियो प्रदेश १ को बैठकः सभामुखको निर्वाचन माघ २९ मा

विराटनगरः प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक ४५ मिनेटमा सकिएको छ। पहिलो अधिवेशनका पहिलो बैठक सोमबार दिउँसो १.३० मा सुरु भएर २.१५ मा सकिएको हो।

बैठकमा जेष्ठ सदस्य ओमप्रकाश सराबगीले सभाको सभामुख र उपसभामुखको निर्वाचन यही माघ २९ गते गरिने जानकारी दिए।

सराबगीले माघ २९ गते दिउँसो १ बजे दोस्रो बैठक बस्ने र त्यस समयसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख गरे।

उनले प्रदेश सभाको सभामुख र उपसभामुखका अभावमा सभा सञ्चालन गर्न प्रदेश सभा सदस्यहरू गणेशकुमार तामाङ, प्रकाशप्रताप साङ्पाङ, रामकुमार राई, राधा थापा र विष्णु तुम्बाहाम्फे रहेको ५ सदस्यीय समिति गठन गरिएको बताए।

बैठकले प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्यविधि ध्वनि मतका आधारमा पारित गरेको थियो।

विकास र समृद्धिका साझा एजेन्डा तय गर्न एकमत


सोमबारको पहिलो बैठकमा ७ सदस्यले बोलेका थिए। सबै वक्ताले प्रदेश १ साधन–स्रोत र जनशक्तिका हिसाबले कमजोर नभएको उल्लेख गर्दै विकास र समृद्धिका साझा एजेन्डा तय गर्नुपर्ने कुरामा जोड दिए।

उदयपुरबाट निर्वाचित स्वतन्त्र सदस्य नारायण बहादुर मगरले यस प्रदेशका चुन ढुङ्गाको खानी, वन, पानी लगायतका प्राकृतिक स्रोतको सदुपयोग र व्यवस्थापन गर्न पक्षविपक्षको मानसिकता त्यागेर एकजुट हुनुपर्ने आग्रह गरे। 

उदयपुरमा हाल चुन ढुङ्गाका ४ वटा ठूला खानी पत्ता लागेको चर्चा गर्दै मगरले अरू धेरै खानी पत्ता लाग्ने चर्चा गरे।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फेले पहिचानसहितको आर्थिक विकास र समृद्धिलाई अघि बढाउनु पर्ने धारणा प्रकट गरे।

राप्रपाकी इन्दिरा राईले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताका नाममा हामी अज्ञात निर्देशनबाट दिग्भ्रमित भइरहेको विचार व्यक्त गरिन्।

उनले जाति, भाषा, धर्म र सम्प्रदायका नाममा मुलुकमा विभाजनको कालो बादल मडारिएको बताइन्।

सङ्घीय समाजवादी फोरमका जयराम यादवले विकास र समृद्धिलाई समावेशी बनाएर अघि बढाउनु पर्ने तथा हिमाल, पहाड र तराईलाई एकबद्ध बनाएर उदाहरणीय प्रदेश बनाउनुपर्ने सुझाव दिए।

माओवादी केन्द्रका इन्द्रबहादुर आङबोले प्राकृतिक साधनस्रोतले धनी रहेको प्रदेश १ लाई पहिचानसहितको प्रदेश बनाउनुपर्ने स्पष्ट पारे।

नेपाली कांग्रेसका चन्द्रप्रसाद श्रेष्ठले संसारकै सबैभन्दा अग्लो र नेपालकै सबैभन्दा होचो ठाउँ प्रदेश १ मै पर्ने जानकार दिँदै साधन र स्रोतले उर्वर रहेको यस प्रदेशलाई मुलुककै समृद्धशाली बनाउन सकिने विश्वास व्यक्त गरे।

एमालेका भीम आचार्यले समृद्धि र विकासका लागि सम्पूर्ण राजनीतिक दलले समान एजेन्डामा जानुको विकल्प नरहेको चर्चा गरे।

‘हामीले शून्यबाट सुरु गर्नुपरेको छ’, उनले भने, ‘जनताका आकांक्षा चुलिएका छन्। नियमकानुन छैनन्। यस्तो अवस्थामा हामीले कसैको खुट्टा तानातान नगरी अघि बढ्नु छ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell