PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

सभामुख चयनः कांग्रेस शून्यमा, वाम र मधेशी गठबन्धनमा कसले मार्लान बाजी?



पहिलोपोस्ट

सभामुख चयनः कांग्रेस शून्यमा, वाम र मधेशी गठबन्धनमा कसले मार्लान बाजी?

काठमाडौं: सातवटै प्रदेशको प्रादेशिक संसद्को अधिवेशन औपचारिक रुपमा सुरु भएको छ। दलहरुले कतिपय प्रदेशमा संसदीय दल गठन प्रक्रिया सम्पन्न गरेका छन्। कतिपयमा विवादका कारण मतदानको मिति तय गरेका छन्।

संवैधानिक व्यवस्था अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्रीको समेत उम्मेदवार हुने भएपछि दलको नेतामा मुख्यमन्त्रीका दाबेदारको तीव्र प्रतिस्पर्धा छ। संसदीय दलको निर्वाचनले नै मुख्यमन्त्रीको खाका कोर्नेछ। यसर्थ मुख्यमन्त्रीमा आकांक्षी धेरै छन्।

मुख्यमन्त्री मात्र हैन सभामुखको आकांक्षी व्यवस्थापन पनि दलहरुलाई चुनौती बनेको छ। एक प्रदेशमा एकै दलका एकभन्दा बढी आकांक्षी भएपछि दलहरु अहिले आन्तरिक गृहकार्यमा छन्।

सात प्रदेशमध्ये हालसम्मको समीकरणमा नेपाली कांग्रेस मुख्यमन्त्री र सभामुख दुबै पदबाट बञ्चित हुने देखिन्छ। वाम गठबन्धनले सातमध्ये ६ प्रदेशमा मुख्यमन्त्री र सभामुख पद भागवण्डा गरेका छन्। प्रदेश २ पनि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबीच मुख्यमन्त्री र सभामुख एक÷एक पद लिने सहमति छ।

सहमति अनुसार प्रदेश १, ३, ६ र ७ मा एमालेले सभामुख पाउँनेछ। प्रदेश ४ र ५ मा माओवादी केन्द्रले सभामुख पाउँनेछ। प्रदेश २ मा राजपाले सभामुख पाउँनेछ।

 

कहाँ कसको दाबी

प्रदेश १ को सभामुखमा एमालेका गणेश काङबाङ र उषाकला राईको दाबी छ। काङबाङ र राई दुबै पहिलो संविधान सभाका सदस्य हुन्। पार्टीमा फरक फरक समूहको प्रतिनिधित्व गर्ने काङबाङ अध्यक्ष ओलीनिकट मानिन्छन्। राई माधव नेपाल समूह निकट छिन्। एमालेको एकल बहुमत रहेको प्रदेश १ मा सभामुख चयनका लागि माघ २९ गते प्रदेश सभा बैठक बोलाइएको छ।

प्रदेश २ मा राजपाका महासचिव मनीषकुमार सुमन तथा नवलकिशोर साह प्रमुख दाबेदार छन्। संघीय समाजवादी फोरमले प्रदेश २ को मुख्यमन्त्री पाएपछि सभामुख राजपाले पाउने निश्चित छ। अन्य दल अंकगणितमा पछि रहेका कारण आकांक्षा देखाएका छैनन्।

प्रदेशको मुख्यमन्त्री सहमतिमा चयन भएमा प्रदेश ३ को सभामुख समेत सहमतिमै टुंग्याउने एमालेको रणनीति छ। मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्य दाबेदार छन्। दुईमध्ये एक मुख्य भई अर्कोले सभामुख दाबी गरेमा सभामुखमा अन्यको सम्भावना कम रहनेछ।

अहिलेसम्म प्रदेश ३ मा ज्येष्ठ सदस्य डोरमणि पौडेल नै सभामुखका प्रमुख आकांक्षी हुन्। रामेश्वर फुँयाल, अरुण नेपाललगायतले पनि सभामुखमा आकांक्षा भने राखेका छन्।

प्रदेश ४ मा माओवादी केन्द्रकी आशा कोइराला सभामुख बन्ने करिव निश्चित छ। नेत्र अधिकारी र लेखबहादुर थापा पनि सभामुखका दाबेदार छन्। तर, पूर्वमन्त्री कोइरालाको सम्भावना बलियो छ।

प्रदेश ५ को सभामुखको भागवण्डा माओवादीको भागमा छ। माओवादीका सुदर्शन बराल, कुलबहादुर केसी, दामा शर्मा र कृष्णध्वज खड्का मुख्य आकांक्षी छन्। माओवादीले औपचारिक रुपमा सभामुखबारे निर्णय गरिसकेको छैन।

प्रदेश ६ मा एमालेका यामलाल कँडेल र प्रकाश ज्वाला दुबैले सभामुखमा दाबी गरेका छन्। यसअघि मुख्यमन्त्रीमा आकांक्षा राखेका दुबै भागवण्डामा मुख्यमन्त्री माओवादीले पाएपछि सभामुखको दाबीमा छन्। कँडेल र ज्वाला दुबै पूर्व सांसद् हुन्। ज्वाला यसअघि अर्थ समिति सभापति थिए।

प्रदेश ७ मा पनि सभामुख एमालेकै भागमा छ। मुख्यमन्त्री भने माओवादीले पाएको छ। जहाँ त्रिलोचन भट्ट संसदीय दलको नेतामा चयन भइसकेका छन्। एमालेका तारा लामा, दीर्घ सोडारीलगायत सभामुखका दाबेदार छन्। प्रदेश ७ मा माघ २९ मा सभामुख चयन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell