PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

को हुन् लालबाबु राउत जो प्रदेश २ को मुख्यमन्त्री बन्दैछन्



राधेश्याम पटेल

को हुन् लालबाबु राउत जो प्रदेश २ को मुख्यमन्त्री बन्दैछन्

वीरगंज :  सात प्रदेशमध्ये देशको एउटै मात्र प्रदेशमा वाम गठबन्धनले सरकार बनाउन सक्ने समीकरण छैन। त्यही प्रदेशको मुख्यमन्त्रीको ताज संघीय समाजवादी फोरम नेपालका नेता लालबाबु राउतले पहिरिने निश्चित जस्तै भएको छ। 

प्रदेश नं २ को प्रदेश सभाका दलहरु मध्ये सबैभन्दा ठूलो दल फोरम नेपालले राष्ट्रिय उपाध्यक्ष लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरेसँगै सामाजिक सञ्जालमा उनलाई शुभकामना र बधाईको ओइरो लागिरहेको छ।

सामान्य परिवारमा ५१ वर्षअघि जन्मिएर मुख्यमन्त्रीको कुर्सीसम्म छलाङ मार्न लागिरहेका राउत राजनीतिमा प्रवेश गरेको भने धेरै भएको छैन। २०६३/०६४मा भएको पहिलो मधेस आन्दोलनपछि मात्रै माइन्डसेट चेन्ज भएर राजनीतिमा होमिएको उनी सुनाउँछन्। 

पर्साको सदरमुकाम वीरगंजभन्दा करिब २७ किलोमिटर पश्चिम–उत्तरमा जगरनाथपुर गाउँ छ। मुस्लिमबहुल यो गाउँको हिन्दु जस्तै नाम भएको मुस्लिम परिवारमा उनी जन्मिएका थिए। बुवा दशरथ राउत र आमा राधिका देवीका जेठा सन्तान हुन् लालबाबु। 

गाउँमै प्रारम्भिक पढाइ सकेका लालबाबु माध्यमिक तहका लागि पोखरियाको विद्यालयमा भर्ना भए। २०४० सालमा राम्रो अंक ल्याएर एसएलसी सकेका लालबाबु प्रवीणता प्रमाणपत्र तह पढ्न सदरमुकाम आए र ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना भए। 

अंग्रेजी मुख्य विषय लिएर अध्ययन गर्न शुरु गरेका लालबाबु वीरगंजमा शुरुमा डेरामा बस्थे। गाउँबाट बुवा दशरथ उनको पढाई खर्च र केही अन्नपानी लिएर महिनैपिच्छे वीरगंज धाउँथे।

स्नातकसम्म वीरगंजमै अध्ययन गरिसकेपछि स्नातकोत्तर पढ्न उनी २०४९ सालमा उनी काठमाडौँ गए। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरको अध्ययन पूरा गरिसकेपछि वीरगंज फर्केर २०५० सालदेखि आफै पढेको ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यापन गर्न थाले। 

अध्यापन सँगसँगै वीरगंज नगरमा प्रशासनमा आवेदन दिएर परीक्षामा पास भएपछि उनी नगरपालिकाको जागिरे पनि भए। 

नगरपालिकामा अधिकृतको जागिर र आंशिक प्राध्यापकको काम सँगसँगै बढाएका लालबाबुलाई राजनीतिको भोक त्यसबेला लाग्यो जुन बेला मधेस जलिरहेको थियो र मधेसी सपुत आहुति दिइरहेका थिए। 

‘राजनीतिप्रति मेरो झुकाव विद्यार्थी कालदेखि नै थियो, २०५८ सालमा मधेसी जनअधिकार फोरम नेपालको केन्द्रीय सचिवको जिम्मेवारी वहन गरेको थिएँ,’ उनी भन्छन् ,‘२०६२/०६३ सालको जनआन्दोलन र त्यपछिको पहिलो मधेस आन्दोलनले मलाई सक्रिय राजनीतिमा हाम फाल्न प्रेरित गर्‍यो।’

लालबाबु क्याम्पस जीवनमा नेपाल विद्यार्थी संघसँग आबद्ध थिए। पछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमको केन्द्रीय सचिव भएर काम गरे। महाधिवेशनपछि उनी केन्द्रीय सदस्य तथा राष्ट्रिय उपाध्यक्ष समेत भए।

दोस्रो संविधान सभाको व्यवस्थिपिका संसदको राज्य व्यवस्था समिति तथा संविधानको मस्यौदा बनाउने समितिको अनुभव बटुलेका लालबाबु पार्टीका एक बौद्धिक नेताको रुपमा चिनिन्छन्। प्रदेश नं २ मा राजपासँग गठबन्धन गरी मधेसकेन्द्रित दललाई प्रदेश २ मा शानदार विजय हासिल गराउन प्रमुख भूमिका खेलेका नेता मध्येमा एक हुन् लालबाबु।

 ‘मैले कहिले पनि आफू नै मुख्यमन्त्री बन्छु भनेको थिइनँ। पार्टीको निर्णय, नीति र सिद्धान्तमा अघि बढदै गएँ। पार्टीले अर्को जिम्मेवारी दिएको छ, यसलाई पनि बखुबी पूरा गर्छु,’ उनले पहिलोपोस्टसित भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell