PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नेविसंघका नेताको मृत्युपछि पोखरामा तनावः चार राउन्ड अश्रुग्यास प्रहार



नरहरि पौड्याल

नेविसंघका नेताको मृत्युपछि पोखरामा तनावः चार राउन्ड अश्रुग्यास प्रहार

पोखराः नेपाल विद्यार्थी संघ(नेविसंघ) स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई नगर बसले ठक्कर दिएर मृत्यु भएपछि पोखरामा आन्दोलन सुरु भएको छ।

पृथ्वीनारायण क्याम्पस गेट अगाडि सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ। बिहानैबाट विद्यार्थीको अवरोध हटाउन दमनमा उत्रिएका प्रहरीले धरपकड थालेपछि विद्यार्थी आन्दोलन उग्र बन्दै गएको हो।

आज बिहानैबाट विद्यार्थीले क्याम्पस गेट अगाडि नगर बस तोडफोड र सडक अवरुद्ध पारेको आरोपमा प्रहरीले लाठीचार्ज गरी सडकबाट धपाएपछि विद्यार्थी आक्रामक देखिएका हुन्। विद्यार्थी र प्रहरी बीच समाचार तयार पार्दासम्म ढुङ्गा हानाहान भइरहेको छ।
 
ठूलो संख्यामा प्रहरी परिचालन गर्दा समेत आन्दोलन झन उग्र बनेपछि प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको छ।

नेविसंघका कार्यकर्ताले बिहानैदेखि क्याम्पस क्षेत्रमा प्रदर्शन गरेका छन्। 

नेविसंघले पोखरा १ बगर क्षेत्रमा विहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि पोखरामा नगरबस सञ्चालन भएका छैनन्। पिएन क्याम्पस अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै केहीबेर विद्यार्थी र प्रहरीबीच मुठभेड समेत भएको थियो । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको नेविसंघ पिएन क्याम्पसले जनाएको छ ।

दोषीलाई कडा कारबाहीको माग गर्दै नेविसंघमा आवद्ध विद्यार्थीहरुले पोखराका २५ भन्दा बढी गाडीमा तोडफोड गरेका छन्। केही गाडीको चाबी पनि नियन्त्रणमा लिएको ब्यवसायीले बताएका छन्। 

सोमबार साँझ पिएन क्याम्पस गेट अगाडि नगरबसको ठक्करले ढकालको मृत्यु भएको थियो । विद्यार्थीहरु संयमित रहेपनि प्रहरीले हस्तक्षेप गर्नु गलत भएको नेविसंघ केन्द्रीय सदस्य भानु ढकालले आरोप लगाए।

घटनाको छानवीन र तत्कालै क्षतिपूर्तिको ब्यवस्थापन नभएसम्म बन्द फिर्ता नहुने विद्यार्थीहरुले बताएका छन्। अहिले प्रहरी प्रशासन, पीडित र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा बैठक हुँदैछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell