
काठमाडौंः बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ। कान्तिपथस्थित आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो।
प्रत्येक प्रदेशमा रहेको उच्च अदालत भएको जिल्ला सदरमुकाममा मतदान हुने छ। बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म मतदान हुने छ।
राष्ट्रियसभामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूदायबाट एक र खुल्ला तीन गरी एक प्रदेशबाट आठ जना सदस्य निर्वाचित गर्नु पर्ने छ।
एक प्रदेशमा आठ गरी सातै प्रदेशमा जम्मा ५६ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुने छन।
यसको लागि २१ दलले आयोगमा निवेदन दर्ता गराएका थिए। त्यस मध्ये १३ दलका ८३ जना उम्मेदवारले उम्मेदवारी दिएका थिए।
जसमध्ये ६ जनाले उम्मेदवारी फिर्ता लिएका थिए भने एक जनाको उम्मेदवारी रद्द भएको आयोगले जनाएको छ।
५६ जनाको लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भैसकेका छन।
निर्विरोध निर्वाचित हुनेमा प्रदेश १ बाट महिला र खुल्लाबाट ३ गरि ६ जना निर्वाचित भएका छन। प्रदेश २ का सम्पूर्ण सदस्य निर्विरोध भएका छन्।
प्रदेश ४ मा अपाङ्ग भएका वा अल्पसङ्ख्यक समूदायबाट १ जना निर्वाचित भएका थिए भने, प्रदेश ५ मा महिला ३ जना निर्विरोध निर्वाचित भएका छन्।
प्रदेश ७ मा तीन महिला र तीन खुल्ला गरी ६ सदस्य निर्विरोध निर्वाचित भएका छन्। प्रदेश प्रदेश तीन र ६ बाट भने कुनैपनि सदस्य निर्वाचित भएका छैनन्।
बाँकी रहेका ३२ जना सदस्यका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्थानीय तह र प्रदेशसभा सदस्य गरी कुल २ हजार ५२ जना मतदाता रहेका छन्।
प्रदेश सभा २ का सम्पूर्ण सदस्य निर्वाचित भैसकेपछि अब अन्य ६ प्रदेशका स्थानीय तहका एक हजार २ सय ३४ र प्रदेश सभाका ४ सय ४३ जना गरी १ हजार ६७७ जनाले मतदान गर्ने छन्।
राष्ट्रिय सभाको निर्वाचन पछि के हुन्छ?
मतदान सकिए लगतै मतगणना सुरु गर्ने आयोगले जनाएको छ। मतगणनामा सहयोग गर्ने आयोगले टोलीसमेत खटाएको छ। आयोगले सबै प्रदेशबाट अन्तिम परिणाम प्राप्त गरे पछि आवश्यक तयारी पूरा गरी राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम यथाशीघ्र राष्ट्रपति समक्ष पेश गर्ने आयोगले जानकारी दिएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आएलगत्तै आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकको मतपरिणाम सार्वजनिक गर्ने आयोगले जनाएको छ।
आवश्यक प्रक्रिया अन्तर्गत अयोगले दलहरुले प्राप्त गरेको सिट संख्या समावेशी समूहबाट हुने प्रतिनिधित्व, न्यूनतम ३ प्रतिशत भन्दा बढी मत ल्याउने दलहरुको संख्या र सिट तोक्ने छ। सोही अनुसार बन्द सूचीमा रहेका उम्मेदवारहरु मध्ये निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस गर्न दलहरुलाई आयोगले तीन दिनको समय दिने छ।
यी सबै तयारी पुरा गरी आयोगले प्रतिनिधिसभा सदस्यको सबै निर्वाचन परिणाम फागुन पहिलो हप्ताभित्र राष्ट्रपतिसमक्ष पेश गर्ने आयोगले आयोगले बताएको छ।