
लामो विवादपछि प्रदर्शनमा आएको फिल्म ‘पद्मावत’को चर्चा कम हुन नपाउँदै पुन: अर्को बलिउड फिल्म निर्माणमा विवाद सिर्जना भएको छ। अभिनेत्री कंगना रनावतको मुख्य अभिनय रहने भनिएको फिल्म ‘मनिकर्णिका’ विरुद्ध हिन्दु एक्टिभिस्ट उभिएका हुन्।
झासीकी रानीको कथा भन्ने मनिकर्णिकाले इतिहासको कथा तोडमोड गर्ने भन्दै सर्व ब्राह्मिन महासभा नामक समुहले फिल्म निर्माणमा रोक लगाउने चेतावनी दिएको हो। बलिउड हंगामाले जनाए अनुसार उक्त समुहले फिल्म निर्माण विरुद्ध प्रेस सम्मेलन समेत आयोजना गर्यो। समुहले निर्माण पक्षसँग फिल्मको कथा तथा पटकथा देखाएर झासीकी रानीको इतिहास तोडमोड नगरेको प्रष्ट पार्न आग्रह गरेका छन्।
समुहका अध्यक्ष सुरेश मिश्रका अनुसार फिल्म युनिटले हाल रानी लक्ष्मी बाइ र इस्ट इन्डिया कम्पनीका लागि ब्रिटिस एजेन्टको प्रेमकथा देखाउने फिल्म छायांकन भइरहेको छ। जुन विषय इतिहासको विरुद्ध छ। उनले दिएको जानकारीका आधारमा फिल्मको कथा विवादित पुस्तक रानीबाट लिइएको हो।
यस विषयमा फिल्म निर्माण पक्षको भने प्रतिक्रिया सार्वजनिक छैन। जी स्टुडियोजको प्रस्तुति रहने फिल्मलाई क्रिसले निर्देशन गर्दैछन्। फिल्ममा कंगना रनावत, अंकिता लोकन्दे, जिसु सेनगुप्ता, अतुल कुलकर्नी,सोनु सुद, वैभव लगायतको अभिनय रहेने छ।