
काठमाडौं: गत वर्ष डिसेम्बरमा वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईविरुद्धको खेल खेल्न दुबई पुग्दा नेपालका कप्तान पारस खड्काले डिभिजन टू क्रिकेट रोयल रम्बल जस्तै हुने बताएका थिए। जहाँ ६ टिम दुई स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
नेपाल लगायत एसोसिएट राष्ट्रहरुका लागि सन् २०१९ मा हुने वान डे वर्ल्डकप पुग्ने एउटै बाटो हो डिभिजन टू। भोलिबाट नामिवियामा डिभिजन टू सुरु हुँदैछ।
जसमा नेपाल, आयोजक नामिविया, केन्या, युएई, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्नेछन्। सबैको नजर भने अंक तालिकाको शीर्ष दुई स्थान हुनेछ। जसले अर्को महिना जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायर खेल्न पाउनेछ।
नेपालसँगै नामिविया केन्या र युएई विश्व क्रिकेट लिग च्याम्पियनसिपको पुछारको चार स्थानमा रहँदै डिभिजन टू मा घटुवा भएका हुन् भने क्यानडा र ओमान डिभिजन थ्री को शीर्ष दुई स्थानमा रहँदै डिभिजन टू मा बढुवा भएका हुन्।
डिभिजन टू ८ दिन सञ्चालन हुनेछ। ६ टिमले एकआपसमा १८ खेल खेल्नेछन् र एक टिम च्याम्पियन बन्नेछन्। सिंगल राउण्ड रोविनको लिग पश्चात शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
नेपालका कप्तान पारसले भनेजस्तै डिभिजन टू एक प्रकारको रोयल रम्बल जस्तै हो।
‘डिभिजन टू डब्लुसिएलको यस्तो फर्म्याट हो जहाँ एक हप्तामा सबै ५ वटा म्याच हुन्छ। ५ वटा म्याचमा जुनै टिमले पनि जुनसुकै टिमलाई हराउन सक्छन्’ नामिवियाको लागि तयारी सुरु गर्दा नेपालका कप्तान पारस खड्काले यसो भनेका थिए।
प्रतियोगिता अघि आइसीसीले जारी गरेको मिडिया रिलिजमा पनि सहभागी ६ टोलीले डिभिजन टू खेल्न उत्साहित रहेको र आफूहरुको लक्ष्य टप टू नै भएको बताएका थिए।
सबैको लक्ष्य शीर्ष दुईमा रहँदै वान डे वर्ल्ड कप क्वालिफायरका लागि छनोट हुने र त्यहाँ अझै ठूलो टिमसँग खेल्ने नै हो।
जिम्वावेमा हुने उक्त प्रतियोगितामा आइसीसीको नवौँदेखि १२औं स्थानसम्म रहेका ४ पूर्ण सदस्य वेष्ट इन्डिज, जिम्वावे, अफगानिस्तान र आयरल्याण्डसँगै वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चार स्थानमा रहेका नेदरल्याण्ड्स, स्कटल्याण्ड, पपुवा न्युगिनी र हङकङ छन्।
डिभिजन टू बाट गएको २ टिमसँग कूल १० राष्ट्रबीच दुई स्थानको लागि प्रतिस्पर्धा हुनेछ। फाइनलमा पुग्ने २ टोली अर्को वर्ष इंगल्याण्डमा हुने वान डे वर्ल्ड कपमा छनोट हुनेछन्।
डिभिजन टू को लागि सबै टिम नामिविया पुगिसकेका छन्। त्यसअघि सबै टिममले आ-आफ्नो तयारी पूरा गरिसकेका छन्। नामिवियाको कन्डिसन अनुसार क्यानडा, ओमान र युएईले दक्षिण अफ्रिकामा गएर तयारी गरेको थियो। युएईले घरेलु भूमिमै आयरल्याण्ड र स्कटल्याण्ड सम्मलित सिरिज समेत खेलेको थियो। केन्याले जिम्मवावेको पहिलो श्रेणीको टोलीसँग ४ अभ्यास खेल खेल्यो। नामिवियाले पनि दक्षिण अफ्रिकामा गएर तयारी गरेको थियो। नामिवियाले दक्षिण अफ्रिकाको रिजनल वान डे प्रतिस्पर्धा समेत गरेको थियो।
नेपालले भने डिभिजन टू को प्रतिस्पर्धी रहेको राष्ट्रको पहिलो श्रेणीको टोलीसँग ३ अभ्यास खेल खेल्यो। नेपालले दक्षिण अफ्रिका टुर गर्न चाहे पनि त्यसो हुन् सकेन। अन्तत: युएई भ्रमण गरेको नेपालले त्यहाको पहिलो श्रेणीको टोलीसँग ३ अभ्यास खेल खेल्दा २ मा जित र १ मा हारको नतिजा निकालेको थियो।
नेपालले दुई वर्षअघि पनि नामिवियामै गएर डिभिजन टु खेलेको थियो। नेपाल जस्तै केन्या र क्यानडाको लागि पनि यो नामिवियाको दोस्रो डिभिजन टू प्रतियोगिता हुनेछ। यस्तै घरेलु टोलि नामिवियाले पनि दुई वर्षअघि डिभिजन टू खेलेको थियो।
त्यतिखेर नेपालले क्यानडा र नामिवियालाई हराएको थियो भने केन्यासँग पराजित भएको थियो। नेपालले हराएको नामिविया र नेदरल्याण्ड फाइनलमा पुग्दा नेपाल रनरेटको आधारमा तेस्रो भएको थियो। नेपालले त्यसयता नामिमिवियालाई वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा हराए पनि केन्या र युएईसँग राम्रो नतिजा निकाल्न सकेन। घरेलु मैदानमा भएको च्याम्पियनसिपमा नेपालले केन्यालाई एक खेलमा मात्र पराजित गर्न सक्यो। युएईसँग भने दुई खेल हारेको थियो।
यस्तो छ डिभिजन-२ खेल तालिका:
माघ २५ गते (फेब्रुअरी ८)
केन्या vs यूएई – वन्डरर्स मैदान
नेपाल vs नामिविया – डब्लुएपी मैदान
ओमान vs क्यानडा – ट्रस्टको युनाइटेड मैदान
माघ २६ गते (फेब्रुअरी ९)
युएई vs क्यानडा – वन्डरर्स मैदान
नेपाल vs ओमान – डब्लुएपी मैदान
केन्या vs नामिविया – ट्रस्टको युनाइटेड मैदान
माघ २८ गते (फेब्रुअरी ११)
नामिविया vs ओमान – वन्डरर्स मैदान
केन्या vs क्यानडा – डब्लुएपी मैदान
यूएई vs नेपाल – ट्रस्टको युनाइटेड मैदान
माघ २९ गते (फेब्रुअरी १२)
केन्या vs नेपाल – वान्डरर्स मैदान
यूएई vs ओमान – एब्लुएपी मैदान
नामिविया vs क्यानडा – ट्रस्टको युनाइटेड मैदान
फागुन २ गते (फेब्रुअरी १४)
नेपाल vs क्यानडा – वन्डरर्स मैदान
यूएई vs नामिविया – डब्लुएपी मैदान
केन्या vs ओमान – ट्रस्टको युनाइटेड मैदान
फागुन ३ गते (फेब्रुअरी १५)
फाइनल – वन्डरर्स मैदान
तेस्रो र चौथो स्थानको प्लेअफ – डब्लुएपी मैदान
पाँचौं र छैटौं स्थानको प्लेअफ – ट्रस्टको युनाइटेड मैदान
Source: thenational.ae/international