
हुवालिन: ताइवानमा बुधबार विहान शक्तिशाली भूकम्प गएको समाचार छ। त्यसमा परी चार जनाको ज्यान गएको छ भने अरु २२५ जना नराम्ररी घाइते भएका बताइएको छ।
भूकम्पमा परी अरु १४५ जना हराइरहेका छन्। साथै युनमेन नामक एक व्यापारिक भवनमा १४३ जना च्यापिएर रहेका छन्। उक्त व्यापारिक भवन आंशिक रुपमा भत्किएका कारण नागरिकहरु भवनको चेपुवामा परेका छन्।
उनीहरुलाई उद्वारका लागि ठूलो संख्याका प्रहरीले प्रयास जारी राखेका बताइएको छ। अधिकारीहरुले भूकम्पपछिको उद्वारका लागि ठूलो संख्यामा सेना र प्रहरीसहितका उद्वारकर्मी खटाइएको बताएका छन्।
बुधबार बिहान १०ः४० बजे आएको सो भूकम्प ६.५ रिक्टर स्केलको थियो। त्यस भूकम्पले ठूलो भौतिक क्षति पु¥याएको अनुमान गरिएको छ। तर अहिले उद्वारको कार्य जारी रहेकोले क्षतिको पूर्ण विवरण प्राप्त हुन सकिरहेको छैन।
ताइवानमा यतिखेर विदेशी पर्यटकहरु जाने मौसम हो। त्यसैले भूकम्पमा पर्यटकहरु पनि परेको अनुमान गरिएको छ। अहिलेसम्मको सूचनाअनुसार पाँच जना विदेशी पर्यटक घाइते भएको पाइएको छ।
उक्त भूकम्पपछिका कैयौँ पराकम्पहरुका कारण नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । उनीहरु घरभित्र नभएर सबैजना सडक तथा खाली चौरमा जम्मा भएर बसेका जनाइएको छ।