PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कांग्रेसका १० जिल्ला सभापतिको मागः महासमिति बैठकअघि नै राष्ट्रिय सम्मेलन 



अनन्तराज न्यौपाने

कांग्रेसका १० जिल्ला सभापतिको मागः महासमिति बैठकअघि नै राष्ट्रिय सम्मेलन 

विराटनगरः प्रदेश–१ का १४ मध्ये १० जिल्लाका कांग्रेस सभापतिले जिल्ला सभापतिको राष्ट्रिय सम्मेलनको माग गरेका छन्।

राष्ट्रिय सभा निर्वाचनका क्रममा विराटनगर आइपुगेका १० जनाले आगामी महासमितिको बैठकअगावै जिल्ला सभापतिको सम्मेलन गरिनुपर्ने माग गरेका हुन्।

मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूको नेतृत्वमा सम्मेलनको माग गर्नेहरूमा भोजपुरका नन्दमणि राई, तेह्रथुमका गोविन्द ढुङ्गाना, झापाका उद्धव थापा, सुनसरीका राजीव कोइराला र वखलढुङ्गाका प्रदीप सुनुवार छन्।

त्यस्तै खोटाङका नरेश श्रेष्ठ, ताप्लेजुङका लीला बोखिम, सङ्खुवासभाका दीपेनकुमार श्रेष्ठ र पाँचथरका नरेन्द्रकुमार केरुङले पनि सम्मेलनको माग गरेका हुन्।

प्रदेश १ का सोलुखुम्बु, उदयपुर, इलाम र धनकुटाका सभापति विराटनगर आउन नपाएका कारण बैठकमा सहभागी हुन नसकेको मोरङका सभापति लिम्बूले जानकारी दिए।

अनुपस्थित चारै सभापतिले १० सभापतिको आग्रहलाई स्वीकार र समर्थन गरेको लिम्बूको दाबी छ।

मोरङ काङ्ग्रेसको कार्यालयमा १० सभापतिको बैठक बुधबार दिउँसो बसेको थियो।
सभापतिको राष्ट्रिय सम्मेलनको व्यवस्थापन र आतिथ्य गर्न मोरङ कांग्रेस तयार रहेको लिम्बूले बताए।

‘नेपाली कांग्रेसको विधानअनुसार वर्षमा एक पटक जिल्ला सभापतिको राष्ट्रिय सम्मेलन गर्न अनिवार्य छ’, सभापति डिगको भनाइ थियो, ‘तेह्रौ महाधिवेशनपछि यस्तो सम्मेलन हुन सकेको छैन।’

तेह्रौँ महाधिवेशनपूर्व २ पटक यस्ता सम्मेलनको आयोजना गरिएको थियो।

‘राष्ट्रिय सम्मेलनमा प्राप्त कार्यदिशा र विधानसँग सम्बन्धित निष्कर्षलाई महासमिति बैठकमार्फत् अन्तिम रूप दिइनेछ’, भेला भएका १० सभापतिले प्रकाशित गरेको संयुक्त वक्तव्यमा भनिएको छ, ‘परिवर्तित राज्य संरचनाबमोजिम विधान संशोधनलगत्तै प्रदेश सभा समिति र अन्य तहको समिति सुव्यवस्थित ढङ्गले निर्माण गर्नु आवश्यक छ।’

सभापति लिम्बूले चैत महिनाभित्र महासमितिको बैठक बस्ने भएकाले फागुनको अन्तिम साताअगाडि नै विराटनगरमा जिल्ला सभापतिको राष्ट्रिय भेला गर्न पार्टीको केन्द्रीय समितिमा अनुरोध गरिएको जानकारी दिए।

केन्द्रीय समितिको आगामी बैठकले यस बारेमा ठोस निर्णय गर्ने कुरामा सबै जिल्ला सभापति विश्वस्त रहेको उनको कथन थियो।

सरकारका काममा केन्द्रीय सदस्यको विरोध, जिल्ला सभापतिको समर्थन


साथै सरकारबाट जाँदाजाँदै देउवा सरकारले गरेका लोककल्याणकारी भनिएका निर्णयलाई १० जिल्ला सभापतिले नै स्वागत गरेका छन्।

काङ्ग्रेसका प्रभावशाली केन्द्रीय सदस्यद्वय डाक्टर रामशरण महत र डाक्टर शेखर कोइरालाले देउवा सरकारले पछिल्लो पटक गरेका वृद्ध भत्ता लगायतका निर्णयलाई यही हप्ता विराटनगरमा खुलेर आलोचना गरेका थिए।

तर १० जिल्ला सभापतिको वक्तव्यमा भनिएको छ, ‘वर्तमान सरकारले निर्णय र घोषणा गरेका जुनसुकै कार्यक्रमको हार्दिक स्वागत गर्दै सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।’ 
  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell