.jpg)
तुलसीपुर: प्रदेश नं ५ को राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम घोषणा गरिएको छ।
मुख्य निर्वाचन अधिकृत हेमन्तकुमार रावलका अनुसार दलिततर्फ नेकपा (एमाले)का उम्मेदवार रामलखन चमार विजयी भएका छन्।
चमारको मतभार पाँच हजार ५०८ रहेको छ भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मैकुलाल वाल्मिकीको मतभार दुई हजार ३७० रहेको छ। त्यसैगरी, अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेकपा (माओवादी केन्द्र)का राजकुमार कुँवर विजयी भएका छन्। उनको मतभार पाँच हजार ३४० रहेको छ भने उनका प्रतिद्वन्द्वी काँग्रसका लुटबहादुर खत्रीको मतभार दुई हजार ५२० रहेको छ।
त्यसैगरी, खुल्ला तीन पदमा एमाले, काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
एमालेका खिमलाल भट्टराईको मतभार तीन हजार ६, काँग्रेसका दुर्गाप्रसाद उपाध्यायको मतभार दुई हजार ४१८ र माओवादी केन्द्रका चन्द्रबहादुर खड्काको मतभार दुई हजार २८० रहेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए।
तीनै उम्मेदवारले ल्याउनुपर्ने भन्दा बढी मत पाएका कारण विजयी भएको घोषणा गरिएको छ। एकल संक्रमणीय निर्वाचन प्रणालीमा एक जना उम्मेदवारले एक हजार ९६१ मत ल्याउनुपर्ने थियो। तीन महिला भने यसअघि नै र्निविरोध निर्वाचित भइसकेका छन्।
निर्विरोध निर्वाचित भएकामा कांग्रेसकी अनिता देवकोटा, एमालेकी कोमल वली र मिना बुढा रहेका छन्।
प्रदेश नं ५ मा ३०५ मतदाता रहेकामा ३०३ मत खसेको थियो। मतदानमा दुई जना अनुपस्थित रहे।
प्रदेश नं ५ मा प्रदेशसभाका ५५ पुरुष र महिला ३१ गरी ८६ तथा स्थानीय तहबाट ११६ पुरुष र १०१ महिला गरी २१७ जनाले मतदान गरेका थिए।
राष्ट्रियसभा सदस्यमा विजयीलाई बिहीबार बिहान निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने कार्यक्रम छ।