आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू आजदेखि सुरु हुँदैछ। नेपालले आज पहिलो खेल आयोजक नामिवियासँग खेल्दैछ। नेपाल र नामिवियाबीचको खेल डब्लुएपी मैदानमा नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ।
युएईमा एक साताभन्दा बढी समयको भ्रमणपछि नेपाल आइतबार नामिविया पुगेको हो। नेपालले दुई दिन स्थानीय मैदानमा समेत अभ्यास गरेको थियो।
नेपालका प्रशिक्षक जगत टमाटाले युएई भ्रमण राम्रो भएको र सबै खेलाडीहरु फिट रहेका बताए। उनले सबै टोली स्ट्रोङ रहेकाले लक्ष्य हासिल गर्न राम्रो क्रिकेट खेल्नुपर्ने प्रतिक्रिया दिए।
हेड टु हेड रेकर्डमा नामिवियामाथि नेपाल हाबी रहेको छ। पछिल्लो ३ खेलमा नामिवियासँग नेपाल हारेको छैन। २०१५ को डिभिजन टू मा नेपालले नामिवियालाई उसैको मैदानमा हराएको थियो भने वर्ल्ड क्रिकेट लिग चयाम्पियनसिप अनतर्गत घरेलु मैदानमा भएको दुबै खेल नेपालले जितेको थियो।
सन् २००१ मा आइसीसी ट्रफीमा भने नामिवियाले नेपाललाई पराजित गरेको थियो। तर उक्त खेल खेलेका कुनै पनि खेलाडी अहिले नेपाली टिममा छैनन्।
कुनै पनि प्रतियोगिताको पहिलो खेल निकै महत्वपूर्ण हुन्छ। घरेलु टोलीविरुद्धको पहिलो खेल जित्न सके नेपाली टोलीलाई मनोवैज्ञानिक फाइदा पुग्छ। उता नामिवियालाई समेत पहिलो खेल जित हात पार्ने चुनौती हुनेछ।
डिभिजन टू अन्तर्गत आजै केन्या र युएई तथा ओमान र क्यानडाबीच पनि खेल हुनेछ।
६ टोलीको सहभागिता रहेको डिभिजन टू बाट शीर्ष दुई स्थान हात पार्ने टोली अर्को महिना जिम्वावेमा हुने वान ८ वर्ल्ड कप क्वालिफायरका लागि छनोट हुने भएकाले सबैको नजर शीर्ष दुईमा छ।
हेड टु हेड
खेलः ४
नेपाल विजयीः ३
नामिविया विजयीः १