काठमाडौँः राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको अन्तिम मतपरिणाम आज सार्वजनिक गर्ने भएको छ। आयोगले आजै सिट बाँडफाँट गरेर दलहरुलाई समानुपातिक समावेशी सिद्धान्त अनुसार सदस्य सिफारिसका लागि पत्राचार गर्नेछ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकको सिट बाँडफाँट गरेर आजै सदस्य सिफारिसका लागि दलहरुलाई तीन दिनको समयसहित पत्राचार गर्ने बताए। दलहरुले पठाएको सूचीमा कुनै परिमार्जन आवश्यक भएमा थप दुई दिन समय दिइने ढकालले बताए।
अबको पाँच दिनभित्र प्रतिनिधिसभाको मतपरिणाम राष्ट्रपतिलाई हस्तान्तरण गर्ने आयोगको तयारी छ। राष्ट्रियसभाको अन्तिम मतपरिणाम भने ढिलामा सात दिनभित्र बुझाइसक्ने ऐनको प्रावधान अनुसार काम हुने प्रवक्ता ढकालले बताए।
मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकको मतगणना पुस २ गते नै सम्पन्न भए पनि राष्ट्रियसभा निर्वाचन सम्पन्न नभई आयोगले परिणाम सार्वजनिक गर्न अस्वीकार गरेको थियो।
मतपरिणाम सम्पन्न भएको करिव दुई महिनापछि आयोगले सिट बाँडफाँट गर्न लागेको हो।
समानुपातिकमा कसको कति सिट?
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत पूरै देशलाई एक निर्वाचन क्षेत्र मानी दलहरुले पाएको कूल सदर मत संख्याको अनुपातमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार मत परिणाम विभाजक सूत्रका आधारमा सिट संख्या बाँडफाँट गरिन्छ।
आयोगको वेबसाइटमा कूल ९५ लाख ४४ हजार ७७९ सदर मत गणना भएको तथ्याङ्क छ।
एमाले र कांग्रेसबीच ४५ हजार १०५ मतको अन्तर छ। तर उपलब्ध ११० सिट संख्या विभाजन गर्दा भने दुई दलको अन्तर एक सिटमात्र हुनेछ।
निर्वाचनमा सहभागी ४९ दलमध्ये तीन प्रतिशतको थ्रेसहोल्ड कटाउने दल पाँच वटा मात्रै भएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले राष्ट्रिय दलको मान्यता पाउने भएका छन्।
प्राप्त मत अनुसार एमालेले ४१ सिट पाउँनेछ। कांग्रेसले ४० सिट तथा माओवादीले १७ सिट पाएको छ। मधेसकेन्द्रित दुई दल राजपा र संघीय समाजवादी फोरम दुवैले ६/६ सिट पाएका छन्।
प्रतिनिधिसभामा कसको कति सिट
प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले समानुपातिकको ४१ सिट जोड्दा १२१ सिट पुर्याटएर सबैभन्दा ठूलो दल बनेको छ। एकल बहुमतका लागि एमालेलाई १७ सिट अपुग छ।
कांग्रेस प्रत्यक्षतर्फ २३ सिट मात्र जितेर तेस्रो पार्टी भए पनि समानुपातिकतर्फ जितेको ४० सिट जोडेर दोस्रो दल बन्न सफल भएको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा कांग्रेसको कूल ६३ सिट रहनेछ।
माओवादीले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ जोडेर कूल संख्या ५३ पुर्यायएको छ। वाम गठबन्धनको कूल सिट १७४ पुगेको छ जुन दुई तिहाईभन्दा १० सिटले कम हो।
मधेसकेन्द्रित दुई दलमध्ये राजपाले प्रत्यक्षमा ११ सिट र समानुपातिकमा ६ सिट गरी कूल १७ सिट पाएको छ। संघीय समाजवादी फोरमले भने प्रत्यक्षमा १० र समानुपातिकमा ६ गरी १६ सिट पाएको छ।
२७५ सदस्यीय प्रतिनिधि सभामा स्वतन्त्र एक, राप्रपा एक, नयाँ शक्ति पार्टी एक, नेमकिपा एक र राष्ट्रिय जनमोर्चाको एक सिट रहेको छ। समानुपातिकमा तीन प्रतिशत मत नल्याएको दलले राष्ट्रिय मान्यता नपाउने हुनाले यी दलका सांसदहरुको हैसियत स्वतन्त्र सरह हुनेछ।