काठमाडौं : बलात्कारमा सुनसरी प्रहरी प्रमुख एसपी विद्यानन्द माझी निलम्वनमा परेका छन्। प्रहरी प्रधान कार्यालयले सुनसरी प्रहरी प्रमुख माझीलाई निलम्वन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।
पुस १६ गते सुनसरीको इटहरी २ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षीया बालिकामाथि भएको सामुहिक बलात्कारको घटनालाई ढाकछोप गर्न भूमिका खेलेको भेटिएपछि उनलाई निलम्बनको तयारी गरेको थियो।
पीडित पक्षको जाहेरी लिन नमानेको र उल्टै अभियुक्त पक्षसँग मिलेर पीडितलाई मिलापत्र गराएको घटनाका बारेमा छानबिन गर्न बनेको समितिको अनुसन्धानपछि प्रहरी प्रधान कार्यालयले उनलाई निलम्वनका लागि गृहमा पत्राचार गरेको हो।
एसपी माझीलाई निलम्बनका लागि गृहलाई पत्राचार गरेको प्रहरी प्रवक्ता डीआइजी मनोज न्यौपानेले पुष्टि गरे। '१६ गते भएको घटनाका बारेमा आफन्तले प्रहरीमा उजुरी गरेको भए पनि निष्पक्ष अनुसन्धान भएन भन्ने कुरा बाहिर आयो, त्यसैका आधारमा एक समिति बनेको थियो, त्यही समितिले दिएको प्रतिवेदन अनुसार नेतृत्वको केही कमीकमजोरी देखियो,' उनले भने।