
रत्ननगर : चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा आज बिहान ट्रकसँग ठोक्किएर एउटा दूध ट्यांकर त्रिशुली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्यांकरका चालक नवलपरासी कोल्हुवाका ३० वर्षीय सन्तबहादुर कुमाल र उनका भतिजा २२ वर्षीय लिलाकुमाल रहेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ६९५३ नम्बर दूधको ट्यांकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाँदा सो दुर्घटना भएको हो।
चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृतक दुवै जनाको शव पानीबाट निकालिएको छ। बिहान करिब ६ बजेको समयमा उक्त दुर्घटना भएको हो।
अहिले घटनास्थलमा उद्धारका लागि प्रहरीटोली परिचालन गरिएको छ। सशस्त्र जनपद प्रहरीले उद्धारको काम गरिरहेका छन्। घटनास्थल नारायणगढबाट १६ किमी मुग्लिनतर्फ पर्छ।