PahiloPost

May 15, 2024 | २ जेठ २०८१

राष्ट्रिय सभामा निर्वाचित एक त्यस्ता सदस्य जसले वडा सदस्यमा मात्र हैन गाउँ कार्यपालिका सदस्य निर्वाचन पनि हारेका थिए



नेत्र तामाङ

राष्ट्रिय सभामा निर्वाचित एक त्यस्ता सदस्य जसले वडा सदस्यमा मात्र हैन गाउँ कार्यपालिका सदस्य निर्वाचन पनि हारेका थिए
सिंहबहादुर विक।

काठमाडौँ :  राष्ट्रिय सभाको ५६ जना सदस्यका लागि भएको निर्वाचन जित्नेमध्ये एमालेका सिंहबहादुर विक अरुभन्दा फरक छन्। 

स्थानीय तहको सदस्यताका लागि गरेको दुई पटकसम्मको प्रयास असफल भएपछि अन्ततः तेस्रो प्रयासमा बल्ल उनी ठूलै फड्को मार्दै राष्ट्रिय सभा सदस्य निर्वाचित हुन सफल भएका हुन्। 

पहिलो चरणमा भएको स्थानीय निर्वाचनमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा ७ मा उनी वडा सदस्यका उम्मेदवार भएका थिए।  पाए जम्मा ४१६ मतमात्र।  उनीभन्दा ६० मत बढी ल्याएर कांग्रेसका लाक्पा तामाङ विजयी भए। 

एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीका पूर्व सदस्य रहेका विक सल्लाहकार समितिका सदस्य हुन्।

'जिल्लामा पार्टीको ठूलै मान्छे हो उहाँ, खै चुनावमा चै के भएको हो, मसँग हार्नुभो' विकलाई पराजित गरेका वडा सदस्य तामाङले पहिलोपोस्टसँग भने।

पहिलो प्रयास असफल भएपछि उनले गाउँ कार्यपालिकाको लागि भएको निर्वाचनमा फेरि प्रयास गरे। गाउँ कार्यपालिकामा अध्यक्ष, उपाध्यक्ष र प्रत्येक वडाबाट एक एकजना वडाध्यक्ष रहने व्यवस्था गरिएको छ । यसबाहेक गाउँ सभाका सदस्यमध्येबाट चारजना महिला र अन्य दुई दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित हुन्छन् ।

विक दलित भएको हुनाले वडा सदस्यमा पराजित भए पनि कार्यपालिकाको चुनावमा दलित वा अल्पसंख्यक कोटामा उम्मेदवारी दिन सम्भव भएको थियो। 

तर दोस्रो प्रयास पनि असफल भयो। उनी फेरि पराजित भए। 

'वडा सदस्यमा त हार्नुभो, हार्नुभो, माओवादी र कांग्रेस मिलेकाले कार्यपालिका सदस्यको निर्वाचनमा पनि उहाँ हार्नुभो,' वडा सदस्य तामाङले भने।

जिल्ला समन्वय समितिमा जानका लागि विकको रहर भए पनि त्यो हारले उनको रहर पूरा हुन नपाएको उनको भनाई थियो।

तेस्रो प्रयास भने उनले सीधै राष्ट्रिय सभाका लागि गरे। प्रदेश नम्बर ३ को दलित कोटामा उनले एमालेबाट उम्मेदवारी दिए र अन्ततः राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए।

वाम गठबन्धनका उम्मेदवारका रुपमा माओवादीको समेत साथ पाएका विक ६८५८ मत ल्याएर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका हरिशरण नेपालीले २५३८ मत पाएका थिए।

आफैले वडा सदस्यमा हराएको व्यक्ति माथिल्लो सदनको सदस्यमा जित्दा कस्तो लागिरहेको छ त भन्ने प्रश्नको जवाफमा तामाङले भने, 'हामी एउटै गाउँको मान्छे। वडाबासीले जित्यो। एकदम राम्रो भयो। मैले त टिकट पाउँदा नै बधाई दिएको थिएँ। अब हाम्रो भेट छिट्टै हुन्छ। भेटेरै बधाई दिउँला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell