PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

माओवादी प्रदेश १ को संसदीय दलको नेतामा ट‌ंकः सरकारको नेतृत्वमा इन्द्र



अनन्तराज न्यौपाने

माओवादी प्रदेश १ को संसदीय दलको नेतामा ट‌ंकः सरकारको नेतृत्वमा इन्द्र

विराटनगरः माओवादी केन्द्रबाट प्रदेश १– को संसदीय दलका नेता टंक आङबुहाङ निर्वाचित भएका छन्।

विराटनगरमा बिहिबार भएको केन्द्रको संसदीय दलको बैठकले आङबुहाङलाई सर्वसम्मतिले नेता चयन गरिएको पार्टीका प्रदेश प्रमुख सावित्रीकुमार काफ्लेले बताए।

आङबोहाङ ताप्लेजुङ जिल्लाको प्रदेश ‘ख’–बाट चुनिएका हुन्। उनी हाल पार्टीको सचिवालय सदस्य छन्। उनले पार्टीमा ‘जनयुद्ध’का बेला ब्रिगेड कमिसारको पदीय हैसियतमा काम गरेका थिए।

पार्टीको नेतृत्व संसदीय दलको नेताले गर्ने चलन भएपनि पार्टी भित्र सहमति भएकोले तत्काल आफु सरकारमा सहभागी हुने स्थिति नरहेको टंक आङ्बुहाङले बताए। पहिलोपोस्टसँग उनले भने, ‘इन्द्रजी सरकारमा पार्टीको नेतृत्व गरी जानुहुन्छ। अहिले म संसदीय दलको नेतृत्वमै हुनेछु।’

संसदीय दलको नेता चयन भएपनि उपनेता, सचेतक र उपसभामुख भने आज चयन हुन सकेन। एमालेको निर्णयपछिमात्र उपसभामुख चयन गरिने आङ्बुहाङले बताए।

पार्टीको एरिया कमिटीमासमेत रहेका उनी २०५९ सालमा केन्द्रीय सदस्य भए।

‘जनयुद्ध’ कालमै गोपाल किराँती प्रमुख रहेको पूर्वी कमान्ड किराँत प्रदेशको उपप्रमुख पनि भए आङबोहाङ। द्वन्द्वकालमै ताप्लेजुङ–पाँचथर–इलाम क्षेत्रको इन्चार्ज र सेक्रेटरी पनि भए।

ताप्लेजुङकै तत्कालीन चाँगे गाविस (अहिलेको आठराई गाउँपालिका)–मा २०३७ कात्तिक १० गते जन्मिएका उनी २०५३ सालदेखि पार्टीको सम्पर्कमा आएका हुन्।

माओवादीमा लाग्नुअघि टङ्क एमाले समर्थित अखिलको राजनीतिमा संलग्न थिए। अखिलको प्रारम्भिक समिति हुँदै जिल्ला सदस्यसम्म भएका उनको २०५३ सालमा पूर्व क्षेत्रका प्रभावशाली माओवादी नेता गौरीशङ्कर खड्कासित परिचय भयो। खड्काकै प्रभावबाट उनी माओवादी गतिविधिमा सक्रिय हुन थाले। 

आङबोहाङ २०५३– देखि २०५५– सम्म अर्धभूमिगत थिए। तर २०५५– मा प्रहरीले पक्राउ पुर्जी जारी गरेका थाहा पाएपछि पूर्ण भूमिगत भए। टङ्कले आफ्नो औपचारिक शिक्षालाई एसएलसीभन्दा माथि पुर्याउन पाएनन्।

‘युद्धकाल’मा धनुकटा सदरमुकाम, चैनपुर, गोपेटार, बन्दीपुर, हतुवागढी, मोरङको जाँते लगायतका दर्जनौँ ठाउँका आक्रमणमा सरिक आफू भएको उनी सुनाउँछन्।

सरकारका नेता इन्द्र आङबोहाङ 


माकेले प्रदेश सरकारमा भने इन्द्र हाङबोहाङलाई नेतृत्व दिएको छ। इन्द्रको नेतृत्वमा माकेका सांसद् प्रदेश सरकारमा सहभागी हुने प्रमुख काफ्लेले जानकारी दिए। 

इन्द्रले पाँचथर जिल्लाको प्रदेश ‘ख’–बाट निर्वाचन जितेका हुन्। उनी हाल पार्टीको केन्द्रीय सचिवालयका सदस्य छन्।

पाँचथरको फिदिम नगरपालिकामा २०३९ साउन २९ मा जन्मिएका इन्द्रले १२ कक्षा उत्तीर्ण गरेका छन्।

उनी २०५७– देखि भूमिगत भएका हुन्। द्वन्द्वकालमा इन्द्रले एरिया कमिटी र जिल्ला कमिटी सदस्यको भूमिका निर्वाह गरे। युद्धको कमान्डर रहेका उनी २०५८ मा पाँचथरको जन सरकारको सदस्य थिए।

इलामको देउराली, बन्दुके चौकी, गोपेटार, पशुपतिनगर, हतुवागढी, भोजपुर, झापाको बिर्तामोड र काँकडभिट्टा लगायतका स्थानका आक्रमणमा आफ्नो सक्रिय सहभागिता र नेतृत्व रहेको इन्द्रले बताए। 

सरकारमा माकेको ३० प्रतिशत सहभागिता


प्रदेश सरकारमा माओवादी केन्द्रको ३० प्रतिशत सहभागिता रहने सहमति भएको प्रदेश प्रमुख काफ्लेले उल्लेख गरे।
एक मुख्य मन्त्री र ९ मन्त्रीसहितको सरकारमा आफ्नो पार्टीबाट ३ मन्त्री रहने उनले जानकारी दिए।
साथै विषयगत सभापति २ थान प्राप्त हुने बताए।

काफ्लेका अनुसार यही माघ २९ गते सभामुखको निर्वाचन सकिएपछि प्रदेश सरकारको गठनको प्रक्रिया सुरु गरिनेछ।

स्वतन्त्र सांसद् माकेमा अब माकेको १६ सिट


उदयुपुरबाट प्रदेश सभामा स्वतन्त्र निर्वाचित नारायणबहादुर मगर गुर्जा मगर माकेमा प्रवेश गरेका छन्। अब प्रदेश १ मा माकेको १६ सिट भएको छ।

‘निर्वाचन लड्दा पनि मलाई वाम गठबन्धनको समर्थन थियो’, मगरले भने, ‘प्राविधिक रूपमा मात्र स्वतन्त्र हैसियतमा निर्वाचनमा जानु पर्यो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell